Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

निःशुल्क स्वास्थ्य उपचार सेवा कसरी लिने ?


काठमाडौँ । लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएको अनलाइन प्रणाली http://freehealth.kathmandu.gov.np/ मा ४१ वटा अस्पताल आवद्ध भएका छन् । ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्र भित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पतालहरुलाई २०८० फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य विभागले पत्राचार गरिसकेको छ ।

‘स्वस्थ्य भएर बाँच्न पाउने तथा रोग लागेमा उपचारको सुविधा पाउने नागरिक अधिकार कार्यान्वयन गर्न विभिन्न चरणका प्रक्रिया पूरा भएका छन् । कोही नभएका र केही नभएका व्यक्ति यसका लक्षित समूह हुन् ।’ स्वास्थ्य विभागका प्रमुख सजिना महर्जन भन्नुहुन्छ, ‘अनलाइन प्रणालीमा आवद्ध हुन सबै अस्पतालहरुलाई अनुरोध गरेका छौँ । सम्पर्कमा आएका अस्पतालको इमेल ठेगानामा हामीले युजर नेम र पासवर्ड पठाएका छौँ । प्रणाली सञ्चालन गर्ने विधि सिकाएका छौँ । सेवा सम्बन्धी विवरण यही प्रणालीमा प्रविष्ट गराएपछि अस्पतालहरुबाट प्रदान गरिएको सेवाको संख्या, उपचारको प्रकारलगायत विवरण थाहा हुनेछ ।’

प्रणालीले सेवा प्रदायक र सेवाग्राहीलाई सजिलै जोड्छ । प्रणालीका बारेमा जानकारी दिँदै जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठ भन्नुहुन्छ, ‘साइट खोलेपछि सेवा र सेवा लिने प्रक्रिया तथा कागजात सम्बन्धी विवरण पढ्न सकिन्छ । अनलाइन सञ्चालन गर्न सक्नेले यसैबाट धेरै सूचना लिन सक्नुहुन्छ । अनलाइन सेवा लिन नसक्नेले महानगरपालिकाको टोल फ्री नम्बरमो फोन गरेर सहयोग लिन सक्नुहुन्छ ।’ साइटमा अस्पतालको नाम, अस्पतालको प्रकार, कति विरामीले सेवा लिए जस्ता विवरण पनि हेर्न सकिन्छ । श्रेष्ठका अनुसार यसपछि कुन अस्पताल कुन विशेषज्ञ सेवाका लागि हो थप गर्ने काम भइरहेको छ ।

लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ । समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य हुनुहुन्छ ।

अस्पतालहरूमा उपचारको समन्वय र सहरीकरणका लागि महानगरपालिकामा चिकित्सकसहितको निःशुल्क उपचार सेवा एकाई हुने कार्यविधिले व्यवस्था गरेको छ । एकाईमा सबै अस्पतालहरूमा उपलब्ध निःशुल्क शय्याको संख्या, उपयोग, रोग अनुसारको चिकित्सक सेवा सम्बन्धी विवरण हुनेछ । तथ्याङ्क र सेवाका आधारमा उपचारका लागि अस्पताल र बिरामीका बिच समन्वय र सहजीकरणको काम एकाइले गर्नेछ ।

उपचार प्रक्रियाका लागि बिरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, विरामीलाई उपचार दिँदा भर्नु पर्ने फाराम, दैनिक रजिस्टर, उपचार गर्ने बिरामी वा निजको आफन्तबाट प्राप्त गर्नु पर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएका छन् ।

निःशुल्क स्वास्थ्य उपचार सेवा कसरी लिने ?

१) गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने ।

२) यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।

३) वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने

४) यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ ।

५) बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?