Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

‘जनयुद्ध दिवस’ प्रचण्ड व्यक्तित्वको एउटा पाटो मात्र हो


-रबिन्द्र मिश्र

‘प्रचण्ड दिवस’को शुभकामना!
९४ प्रतिशत संसद प्रचण्डमार्गमा हिँडिरहेको छ।

माओवादीहरूको शब्दावलीमा प्रयोग हुने ‘जनयुद्ध दिवस’ प्रचण्ड व्यक्तित्वको एउटा पाटोमात्र हो।

देशको हित र अहितको विषयलाई पर राखेर नेपाली शैलीको राजनीतिको परिप्रेक्षमा विश्लेषण गर्ने हो भने २०४६ सालपछिको नेपालका सबैभन्दा बहूआयामिक र सफल नेता प्रचण्ड हुन्।

छिमेकीदेखि, अपवादलाई छोडेर, नेपाली नेता, बुद्धिजिवी, प्राज्ञ, पत्रकार र समाजको ठूलो हिस्सा ‍सबैलाई समय अनुसार लटरपटर पारिदिने क्षमता कसैमा छ भने त्यो प्रचण्डमैँ छ। कम्तिमा पनि गत २५ वर्षको राजनीति प्रचण्डकै वरिपरी घुमिरहेको छ।

जो सैद्धान्तिक रूपमा पहिलेदेखि गणतन्त्रवादी थिए, उनीहरू ‘प्रचण्डमार्गी’ होइनन्। तर राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि गणतन्त्रवादी भएका ‘माघे गणतन्त्रवादी’हरू सबै प्रचण्डमार्गी हुन्। तर उनीहरू आफूलाई प्रचण्डमार्गी भन्न मन पराउँदैनन्। अझ कति त प्रचण्डलाई घृणा नै गर्छन्।

प्रचण्डमार्गबाट बाहिरियो भने समाजले शिद्धान्तहीन ढुलमुले भन्ने हो कि भन्ने चिन्ताबाट उनीहरू ग्रस्त छन्। जानी-नजानी उनीहरू ‘अग्रगमन’ नाम दिइएको प्रचण्ड चिन्तनका दास भएका छन्। म पनि झण्डैझण्डै प्रचण्डमार्गमा फसिकसकेको थिएँ। धन्न, बेलैमा आफुले आफैँलाई सच्च्याएँ।

गणतन्त्र स्थापनाका साहायक कारणहरू धेरै छन्। राजा स्वयंको कार्यशैलीमा भएका कमजोरी, विदेशीहरूको खेल, नेताहरूको निहित स्वार्थ, नागरिकहरूको बहकाऊ आदि इत्यादि। तर ती सबैको केन्द्रमा प्रचण्ड थिए। केन्द्रमा जो हुन्छ त्यही प्रधान हुन्छ। साहायकहरूले जति फुर्ति लगाए पनि ती केन्द्रका रसमा पोसिएका हाँगाबिँगा मात्र हुन्। ती पिपल होइनन्। पिपलका पात हुन्।

प्रचण्डको व्यक्तित्व गजबको छ। उनी ५ हजार नेपालीको हत्याको जिम्मेवारी लिन सक्छन् र प्रधानमन्त्री बन्न सक्छन्, उनी हावामा छिमेकीसँग सुरूङ युद्ध लड्न सक्छन् र छिमेकीसँगै लम्पसार पर्न सक्छन्।

उनी निरन्तर आलोचनाको केन्द्रमा बस्न सक्छन् र आलोचना गर्नेहरूलाई आफ्नै विचारको पुच्छर बनाउन सक्छन्, उनी ‘बोजुवा (bourgeois) शिक्षा’ लिने बालबालिकालाई स्कूलबाट घिसारेर बन्दुक बोकाउन सक्छन् र आफ्नै नातिनातिनालाई ‘सुपर बोजुवा शिक्षा’ दिन सक्छन्।

उनी राजासँग मिलेर शक्ति हत्याउँदै राजा राख्ने खेलमा सामेल हुन सक्छन् र राजाले त्यो नमानेपछि घनघोर गणतन्त्रवादी हुन सक्छन्। एकजना राजा फालेर एक हजार राजा जन्माउन सक्छन्। धर्म अफिम हो भन्दै गेरू वस्त्र धारण गरी मन्दिरमा पुजा गर्न सक्छन्।

ढुङ्गाको मुटु लिएर भावुक क्षणमा आँशु झार्न सक्छन्। आवश्यकता अनुसार ‘यू टर्न’ लिन सक्छन्। कांग्रेसलाई लटरपटर पारेर संसदमा ३२ सिट जित्न सक्छन्। ८९ सिट ल्याएको कांग्रेस र ७८ सिट ल्याएको एमालेलाई फनफनी घुमाएर छिमेकीलाई मख्ख पार्दै सत्तामा टिकी रहन सक्छन्।

कोही छ यस्तो नेता यस देशमा? संसदको गणितलाई आधार मान्ने हो भने ९४ प्रतिशत संसद अहिले प्रचण्डमार्गमा हिँडिरहेको छ। प्रचण्डले कोरिदिएको मार्गलाई उनीहरूले आफैँ निर्माण गरेको ‘लोकमार्ग’ संझिएका छन्।

त्यसैले फागुन १ गते कुन दिवस हो भनेर किन विवाद गर्नु। ९४ प्रतिशत सांसद र तिनलाई साथ दिनेहरूले फागुन १ गतेलाई ‘प्रचण्ड दिवस’ नै भनेर मनाए हुन्छ नि। प्रचण्डमार्गी सबैलाई प्रचण्ड दिवसको शुभकामना!

यद्दपी, जस्तोसुकै रूप र रङ्गका पार्टी र नेता आए पनि प्रचण्डमार्ग यस देश र भावी पुस्ताका लागि असुभ छ भन्नेमा म प्रष्ट छु। (फोटो: सन् २०१३ को भेटबाट)


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?