Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

चोरऔंला र माझीऔंला होउन्जेल च्याप्ने होला नि चुरोट?


– डा. राजेन्द्र कोजु

एक जना शल्यचिकित्सक साथीले भन्नु भयो ‘आजको अपरेशन कस्तो नमज्जाको छ | सार्है दुख लाग्दो |’
‘किन र ? रोग त नमज्जा नै हुन्छ नि | अपरेशन गरे पछि त राम्रै हुन्छ नि |’
‘त्यसो होइन | हातको औंला काट्नु पर्ने छ |’
‘किन ? दुर्घटना भएको हो ?’
‘होइन, बर्जर्स डिजिज हो | औंला पुरै सुकेर कालै भई सकेको छ | एम्पुटेट (काट्ने) नगरी भएकै छैन |’
‘अनि हातको औंला किन नि ? खुट्टामा हुने होइन र ?’
‘त्यहि त दुख लाग्दो भनेको | खुट्टा त दुवै काटीई सकेको छ नि |’
‘हे भगवान |’
‘त्यहि त | पहिलो खुट्टाको औंला सुकेर कालो हुदै खेरि सम्झाएको – चुरोट नखा भनेर | मानेकै होइन |’
‘चुरोटले नै हैरानै गर्यो | चुरोट ले नै क्यान्सर हुने, चुरोटले नै दम हुने, मुटुको रोग, अरु के के हो के के | हामी फिजिसियन कहाँ मात्र चुरोट सम्बन्धि धेरै समस्या आउछ भनेको त, तिमीहरु कहाँ पनि त्यत्तिकै आउँदो रहेछ |’
‘क्यान्सर को समस्या त धेरै नै आउछ | तर यो बर्जर्स डिजिज पनि आई रहेछ |’

बर्जर्स डिजिज – खुट्टा, हात का मझौला-साना रक्तनली हरु साँघुरिएर खुट्टा हातमा रक्त संचार कम हुदै जाने रोग हो | रक्त संचार न्यून हुदै जाँदा, खुट्टा झमझम हुने, औंलाहरु दुख्ने, चिसो हुने, छोएको थाहा नहुदै जाने हुन्छ | रक्तनली ज्यादै नै साँघुरिए पछि रक्त संचार बन्दै हुन्छ र सो रक्तनली बाट रक्त प्रवाह हुने भाग मर्छ | तसर्थ मरेको भाग शरीर बाट छुट्याउनै पर्ने हुन्छ |
यो रोग को प्रमुख, प्रमुख कारण भनेकै चुरोट सेवन हो | जत्ति पनि यस्तो रोगले सताएका व्यक्ति आउंछन, चुरोट खाएकै हुन्छन | चुरोट सेवन र यो रोग को सम्बन्ध धेरै तथ्यले प्रमाणित नै गरिसकेको छ | अर्को फरक कुरा – अधिकाँश पुरुष लाई हुन्छ |

‘अनि खुट्टै काट्नु पर्दा पनि कसरि चुरोट छोड्न नसक्या त ?’
‘त्यहि त | राम्ररि सम्झाए, बिस्तारमा बुझाए, अर्को खुट्टामा पनि असर पर्ला भनि तर्साए, फेरी अपरेशन गर्नु पर्ला भनि धम्काए | तर, अहँ भएन | चुरोट छोडेन |’
‘छोडेन है ?’
‘एउटा खुट्टा काटेको केहि बर्षमा अर्को खुट्टा को समस्या लिएर आई पुग्यो | चुरोट खादै नखानु, यो औषधि लिदै गर्नु भनेर केहि समय हेरियो |’
‘अनि ?’
‘धेरै गाह्रो भयो डा साब, भन्दै आई पुग्यो | चुरोट को बारेमा सोध्यो – चुप लागेर बस्छ | परिवार त्यहिँ करायो – ‘कहाँ छोड्नु – लुकीलुकी खाइरहेछ |’
‘अनि सम्झाएनौ त फेरी ?’
‘भन्न त कति भन्नु | माने पो | दोस्रो खुट्टा नि काट्नै पर्यो | मरिसकेको भाग, काटेन भने उँभो इन्फेक्सन हुने डर |’
‘हो नि, त्यो त अम्पूटेट त गर्नै पर्यो |’
‘अब त चुरोट छोड्ला, समस्या नपर्ला भनेको, अस्ति फेरी हातको औंलामा समस्या लीएर आई पुग्यो | त्यो पनि त्यस्तै अवस्था मा |’
‘हैट ! यो बानी भनेको पनि | अत्ति नै के |’
‘अनि तर्साएनौ, यो अर्को अपरेशन – के रे ? सिम्पाथेटेक्टोमी गर्नु पर्ने हुन् सक्छ | त्यो अपरेशन गर्दा यौन उत्तेजना नै नहुन सक्छ | यौन सम्पर्क नै गर्न नमिल्न सक्ने हुन सक्छ भनेर |’
‘हे… | त्यो पनि भनि सके | चुरोट को लत मा, केहि दिमागमा छिरेको जस्तो देखिदैन |’
‘अब अहिलेको अपरेशन पछि नि ?’
‘खोई थाहा छैन | अर्को हातको चोरऔला र माझिऔला दुइटा होउन्जेल च्याप्ने होला नि |’
‘त्यसो नभन यार | जसरि भए नि छोड़ाउ |’
‘हुन्छ कोशिस गर्छु | ल, म गएं | अपरेशनको तयारि भई सक्यो होला |’
‘गुड लक् |’

सोच्दै बसें | सर्जन लाई मात्र कहाँ सजिलो छ र ?
आफ्नो बानी त कमसेकम सुधार्नु पर्यो नि – रोग बाट बच्न |
यहाँहरुले नि बुझ्नु भयो होला नि ?
चुरोट नखाने लाई बधाई | छोड्ने लाई धेरै बधाई | अरुलाई खान नदिने लाई झन् धेरै बधाई |
युवा उमेरका लाई शुरुवात नै गर्न रोक्ने जमात प्रति हृदयदेखि नै आभार |
चिया पसल, रेस्टुरेन्ट, पसल जहाँ कहिँ पनि “नो स्मोकिंग” क्षेत्र घोषणा गर्न हार्दिक अनुरोध |

चोरऔंला र माझीऔंला होउन्जेल च्याप्ने होला नि चुरोट ?


प्रकाशित मिति: २० माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?