Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान


कञ्चनपुर। कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा सो यन्त्र जडान गरिएको हो ।

सो जडान गरिएको यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले जानकारी दिएका छन् । ‘बर्सेनि बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने सुरुआत गरेका छौँ’, उनले भने, ‘अन्य बाढीबाट प्रभावित हुने क्षेत्रमा पूर्वसूचना यन्त्र थप्दै लैजान्छौँ ।’

प्रमुख शाहले जडान गरिएको यन्त्रले १०/१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने बताए । उनका अनुसार यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहन्छ भने सबैले सजिलै वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने उनको भनाइ छ । नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीबारे निरन्तररुपमा जानकारी दिन सजिलो हुने उनले बताए ।

त्यस्तै, समूहगतरुपमा एसएमएस गरेर बाढीबारे प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सकिने उनले उल्लेख गरे । बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि यन्त्रले सहयोग पुर्‍याउने उनको भनाइ छ । उक्त यन्त्र जडानले आपत्कालीन सञ्चालन केन्द्र राखिएको ‘डिस्प्ले’मा बाढीको जानकारी अद्यावधिक भइरहने हुनाले पूर्वसूचना प्रणाली बलियो हुने निड्स कञ्चनपुरका विपद्सम्बन्धी कार्यक्रम संयोजक नवीन भट्टले बताए ।

‘यस कार्यले नदीको तल्लो तटीय क्षेत्र लालझाडी, पुनर्वास, बेलौरीलगायतका पाँच हजार परिवारको बाढीबाट सुरक्षा हुन्छ’, उनले भने, ‘बाढी प्रभावित क्षेत्रका बासिन्दाले बाढी आउन पूर्व नै सूचना पाउने भएकाले सुरक्षित स्थानमा जान सक्ने हुँदा धनजन जोगाउन मद्दत पुग्छ ।’ डुबान हुने क्षेत्रका बासिन्दा जोगिने उनले जानकारी दिए । दोदा जलाधार क्षेत्रका पालिकासँग सहकार्य गरी बढी पूर्वसूचनाबारे निड्सले कार्य गरिरहेको उनले बताए ।

‘दोदा नदीमा आउने बाढीले बर्सेनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना नहुँदा धनजनको क्षति हुँदै आएको थियो’, कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुन साउदले भने, ‘बाढी पूर्वसूचना यन्त्र जडान भएपछि बाढीबाट धनजन जोगाउन सकिन्छ ।’

उनका अनुसार सर्भेको कामपश्चात् पूर्वपश्चिम राजमार्गको दोदा नदीको पुलको मध्य भागमा यन्त्र जडानको कार्य गरिएको छ ।

 


प्रकाशित मिति: १८ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?