Trending
>>   आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने >>   राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई >>   डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी >>   आजको मौसम : गण्डकी र कोशीका केहि स्थानमा बर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २१ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   कारसहित पोखरीमा बेपत्ता दुई जनाको शव फेला >>   तामाकोशीमा एक युवक शुक्रबारदेखि बेपत्ता, एक जना पक्राउ >>   बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह >>   कडा प्रतिस्पर्धा बीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज >>   सुरु भयो छठ पर्व, आज नहाय खाय
Logo
२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

जनशक्ति न औषधि, अस्पतालको सेवा स्वास्थ्य चौकीभन्दा कम


रामेछाप। रामेछापको दुर्गम गाउँपालिका उमाकुण्ड-२ बाम्तीमा रहेको बाम्ती अस्पतालमा पर्याप्त जनशक्ति, भवन, औषधि र उपकरण अभाव छ । यसले गर्दा बिरामीले उपयुक्त उपचार सेवा पाउन सकेका छैनन् ।

पहिले स्वास्थ्य चौकी रहेको भवनमा बाम्ती अस्पताल राखिए पनि स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाभन्दा अस्पतालको सेवा माथि उठ्न सकेको छैन । एकमात्र पालिका स्तरको प्रस्तावित अस्पतालको न आफ्नै भवन छ, न त पर्याप्त स्वास्थ्यकर्मी र डाक्टर छन् । स्वास्थ्य चौकीकै छानामुनिबाट बाम्तीले बोर्ड झुण्ड्याएर स्वास्थ्य सेवा दिइरहेको त छ तर, अस्पतालको सेवा स्वास्थ्य चौकीले दिने सेवाभन्दा बढी हुन नसकेको त्यहीँका डाक्टर बताउँछन् ।

त्यस्तै, डा. रोका बाम्ती अस्पतालमा विगत दुई वर्षदेखि कार्यरत छन्, तर नाम मात्रको अस्पतालमा नागरिकले अपेक्षा गरेको जस्तो सेवा प्रवाह गर्न नसक्दा उनलाई पनि खिन्न लाग्छ । नागरिकले काठमाडौंका सुविधासम्पन्न अस्पतालको जस्तै सेवा पालिका अस्पतालमा पाइन्छ भन्ने अपेक्षा राख्छन् अस्पतालमा न पर्याप्त जनशक्ति छ न आवश्यक औषधि उपकरण नै ।

डां रोकाले भने ‘नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह गर्न सकिँदैन, न हामीसँग पालिका स्तरको जनशक्ति छन् न त औषधि उपकरण नै । हामीले नागरिकलाई कसरी अस्पतालको जस्तो सेवा दिने रु अस्पताल आउने नागरिक आक्रोश र निराशा बोकेर फर्किन्छन् ।’

उमाकुण्ड गाउँपालिकाले बाम्ती अस्पताललाई गाउँपालिका स्तरको अस्पताल सञ्चालन गर्ने भनेर काम सुरु गरेको लामै समय भयो, तर योजना कार्यान्वयन भएको पाइँदैन । पहिलो कुरा अस्पताल भवन निर्माणको काम अझै सम्पन्न भएको छैन । स्वास्थ्य चौकीकै भवनबाट बाम्तीको स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । पालिका स्तरको अस्पतालको जनशक्ति पनि छैनन् ।

उक्त पालिका स्तरको अस्पतालमा २२ जना स्वास्थ्य जनशक्तिको आवश्यकता पर्छ, तर त्यसको आधा जनशक्ति पनि बाम्तीमा छैनन् ।
‘अहिले हामीसँग १० जनाको जनशक्ति छ, पालिका स्तरको अस्पताल बनेपछि २२ जना हुनुपर्छ । त्यसो हुँदा अरू धेरै सेवा प्रवाह गर्न सकिन्छ, अहिले स्वास्थ्य चौकीबाट अस्पताल ठुलै बन्यो तर सेवा ठूलो हुन सकेको छैन, हामी खुम्चिएरै बसेका छौं, डाक्टर रोकाले भने ।

बाम्तीले एक्स–रे तथा ल्याबका केही सेवा उपलब्ध गराएको छ तर, ती पनि पुराना प्रविधिमा आधारित रहेकाले सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीले गुनासो गरे । गुणस्तरीय स्वास्थ्य सेवा पालिका स्तरको अस्पतालबाट पाउन नसक्दा त्यहाँका नागरिकलाई अस्पताल हुनु र स्वास्थ्य चौकी हुनु उस्तै उस्तै जस्तो भएको छ ।

सो अस्पतालमा आवश्यक मेसिनको अभावमा अन्दाजकै भरमा सेवा प्रवाह गरिरहेको बताउँछन् डाक्टर रोका । अस्पतालमा भएका स्वास्थ्य उपकरणलाई समेत अपडेट गर्नुपर्नेमा रोकाले जोड दिएका छन् ।

त्यस्तै, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बाम्तीलाई पालिका स्तरको अस्पताल बनाउने कामलाई पालिकाले प्राथमिकतामा राखेको बताउँछन् भने सुनुवारले बाम्तीसँगै गाउँपालिकाको केन्द्र प्रीतिमा पनि अस्पताल निर्माणको काममा गाउँपालिका गम्भीर भएर लागेको बताए ।

उनले यस आर्थिक वर्षमा बाम्ती अस्पतालको भवन निर्माण कामलाई तीव्रता दिई सेवा विस्तार र सुधारको लागि प्रदेश र केन्द्र सरकारलाई समेत सहयोगको लागि आग्रह गरेर गाउँपालिकाले काम गर्ने बताए । त्यस्तै, बाम्तीले गाउँपालिकाको अस्पतालले औपचारिकता नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम समेत प्रभावित बनेको त छ नै बिमित नागरिक स्वास्थ्य परीक्षण गर्न, बीमाको औषधि लिन तथा रिफरल सेवा गाउँबाट पाउाँबाट वञ्चित छन् ।

उनीहरू सेवा लिन मन्थली, जिरी र धुलिखेल पुग्नुपर्ने बाध्यता हट्न सकेको छैन ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?