Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

पोखरामा बाँदर आतङ्क बढेपछि वडाध्यक्षले चलाए रुख काट्ने अभियान


पोखरा। बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई हबला दिएर उनले रुख काट्न भनेका हुन् ।

त्यस्तै, लामाचौर र पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएकोले नियन्त्रणका लागि अभियान चलाइएको उनले बताएका छन् । ‘१० दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ ।

उनले सूचना जारी गरेपछि अहिले यसका तर्क वितर्क सुरु भएका छन् । केहीले सूचना नागरिकको हितमा भएको तर्क गरेका छन् भने केहीले रुख काटेर बाँदर नियन्त्रण नहुने बताएका छन् । पोखराका अगुवा विश्व सिग्देल वडाको सूचना लज्जास्पद भएको बताउँछन् ।

त्यसैगरी, मेयर धनराज आचार्यले भने महानगरले रुख काट्ने अभियान नचलाएकोले सूचनाको पछि नलाग्न भनेका छन् । ‘आफ्नो रुख आफै काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउन सबैलाई आग्रह गरिन्छ,’ उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन् । उनले पनि रुख काटेर बाँदर नियन्त्रण नहुने बताएका छन् ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?