Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

कलेजोको टुक्रा दिएर आमाले बचाइन् तीन वर्षीय छोरा


भक्तपुर। आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्तौँ देखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन् । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी हुन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताएका छन् । उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

त्यस्तै, कलेजो झिकेको छ दिनमा आमा र नौ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठले जानकारी दिए । हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा।श्रेष्ठको भनाइ रहेको छ । “यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो नै पहिलो पटक हो । चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ”, उनले भने ।

बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा।सुमित अग्रवाल र डा. वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उनले बताए ।

त्यसैगरी, दाताको काटिएको कलेजो तीन महिनामै ९० प्रतिशतसम्म वृद्धि हुने र दातामा कुनै समस्या नआउने डा।श्रेष्ठको भनाइ रहेको छ । रिसब बुबा रूपक र आमा सीता भट्टका एक्ला छोरा हुन् भने रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि कीमोथेरापी दिइएको थियो ।

आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतको दिल्लीमा लगिएको थियो, तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो ।

सीताले भनिन्, “क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो ।” केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि रु १५ देखि २० लाखसम्मसम्म खर्च हुने बताए । तर तीन वर्षे बालकको हकमा भने रु १५ लाख मात्रै अस्पतालले लिएको उनको भनाइ छ । केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरमा कलेजो प्रत्यारोपण गरेको थियो ।

उक्त केन्द्रले सुरुको केही वर्ष वार्षिक एक–दुई वटामा मात्रै कलेजो प्रत्यारोपण गर्दै आएकोमा यसवर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा।श्रेष्ठले जानकारी दिए । केन्द्र स्थापनाको ११ वर्षमा कूल एक हजार एक सय ८८ जनामा मिर्गौला र १८ जनामा कलेजो प्रत्यारोपण भइसकेको उनी बताउँछन् ।

सो केन्द्रले आव २०६९–७० मा १३ जनाको मिर्गौला प्रत्यारोपण, आव २०७०/७१ मा २७ जना, आव २०७१/७२ सालमा ४१ जना, आव २०७/७३ सालमा एक सय एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । साथै आ.व २०७३/७४ मा एक सय ३२ जना, आ.व २०७४/७५ मा एक सय ५३ जना, आ.व २०७५/७६ मा एक सय ७९ जना, आव २०७६/७७ मा ४९ जना, आ.व २०७७/७८ मा ४५ जना, आ.व २०७८/७९ मा एक सय ६० जना, आ.व २०७९/८० मा एक सय ८६ जना र आ.व २०८०/८१ मा एक सय एक जनामा मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ बाट कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सोही वर्ष दुई जनामा कलेजो प्रत्यारोपण गरेको थियो भने आव २०७४–७५ देखि आ.व २०७७/७८ मा चार वर्षमा एक एक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका थिए । डा. श्रेष्ठका अनुसार आ.व २०७८–७९ मा तीन जनाको, आ.व २०७९/८० मा दुई जनाको र चालु आवमा सात जनामा कलेजो प्रत्यारोपण भइसकेको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?