Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

प्रभावकारी योजना निर्माणका लागि साझा सङ्कल्प आवश्यकः मुख्यमन्त्री पाण्डे


मध्यविन्दु,नवलपरासी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्न सके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताएका छन् ।

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भएको अन्तर्क्रियामा मुख्यमन्त्री पाण्डेले आगामी योजना प्रभावकारी बनाइनुपर्ने बताएका छन् । ‘दिगो विकासको आधार तय गरेर हरेक क्षेत्रलाई समावेश गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुने योजना निर्माण गर्न सुझाव सङ्कलनका लागि जिल्लामा आएका हौँ’, उनले भने ।

उक्त प्रदेशमा उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र, दिगो ऊर्जा सुरक्षा, कृषिको आधुनिकीकरण, कृषि प्रशोधन तथा खनिज उत्खनन, उद्योगधन्दा स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा, पर्यटनलगायत विषयलाई आगामी योजनामा प्राथमिकता दिइने मुख्यमन्त्री पाण्डेले बताए ।

त्यस्तै, गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्र ध्वज जिसीले कृषि क्षेत्रलाई उत्पादनसँग जोड्ने गरी आगामी पञ्चवर्षीय योजना निर्माण गरिने बताए । विगतको अनुभवलाई आधार मानेर आगामी योजना तर्जुमा गर्नुपर्ने मन्त्री जिसीले बताए ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने मूल नाराका साथ आगामी योजना तयार पारिने बताए । आर्थिक समृद्धिको मूल आधारलाई पहिचान गरी रोजगारमुखी योजना अगाडि सारिने मन्त्री आलेले बताए ।

सो योजना निर्माणका लागि पहिलो चरणमा स्थानीय तह र जिल्ला तहका विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलसँग सुझाव सङ्कलनको काम भइरहेको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । प्रदेशभित्रका ११ वटा जिल्लाका सबै स्थानीय तहका प्रमुखसँग छलफल, समन्वय, तथा अन्तर्क्रियाका कार्यक्रम गरी सुझाव सङ्कलनको अभियानका क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सो काम गरिएको उनले बताएका छन् ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीबाहेकका अन्य जिल्लामा सुझाव सङ्कलनको काम सकिएको जानकारी दिँदै उपाध्यक्ष देवकोटाले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो पञ्चवर्षीय योजना निर्माणको तयारीमा जुटेको उल्लेख गरे ।

त्यस्तै, फागुनभित्र योजनाको मस्यौदा तयार गर्ने र चैत मसान्तसम्ममा यसलाई अन्तिम रूप दिने लक्ष्य रहेको गण्डकी प्रदेश सरकारले जनाएको छ । सुझाव सङ्कलन कार्यक्रममा प्रदेशसभा सदस्य, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का नगर तथा गाउँपालिका र जिल्ला समन्वय समितिका पदाधिकारीले पनि योजनाका लागि सुझाव दिएका थिए ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?