Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो


वीरगञ्ज,पर्सा।  कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो ।
उक्त सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिएका  छन् ।
उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।
संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँचजनाको स्क्रिनिङ गरिएको जानकारी दिए । जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए । भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ रहेको छ ।
त्यस्तै, हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ भने पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना सङ्क्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
होल्डिङ सेन्टर तयारी अवस्थामा 
वीरगञ्जस्थित सीमानाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ । कोभिड– १९ को पहिलो लहर फैलिएपछि सरकारको विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यका साथ यहाँस्थित सीमानाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो ।
उक्त निर्माण गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिए । कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय र कलेजलाई क्वारेन्टिन बनाइएको भन्दै आलोचना भएपछि निर्माण गरिएको होल्डिङ सेन्टरलाई अहिले नेपाली सेनाले सुरक्षा दिएर राखेको उनको भनाइ रहेको थियो ।
त्यस्तै, भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा करिब रु २८ करोडको लागतमा कूल ६० भवन निर्माण गरिएका यादवले जानकारी दिए । उनका अनुसार उक्त भवनमा १३ भान्सा घर र २२ शौचालय बनाइएका छन् । उक्त क्वारेन्टिनमा एक हजार शय्या छन् । जसमध्ये नौ सयमा सामान्य लक्षण भएकालाई र एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिने छ ।
 त्यस्तै, अन्य तीन वटा एसिसहितका भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि निर्माण गरिएको संयोजक यादवले बताएका छन् ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?