Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा


स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निस्शुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो । चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगर सभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अति विपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिएका छन् ।

त्यस्तै, आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ रहेको छ ।

‘बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने अभिभावक वा घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिँदा उपचारमा सहयोग पुग्छ’, उनले भने, ‘सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै जान्छ ।’

उक्त नगरपालिकाले यसका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । सो कार्यक्रमले सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुग्नुका साथै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई गुणस्तरीय बनाउनका लागि पनि पालिकाले आवश्यक नीति, कार्यविधि तथा बजेटको सुनिश्चित गरेको नगर प्रमुख खाणले बताए ।

त्यस्तै, नगरपालिकाभित्र ४५ सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अति विपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यका लागि न्यूनतम रु तीन हजार पाँच सय बीमाबापतको रकम नगरपालिकाले भुक्तानी गरिदिने भएको छ । उक्त रकमले पाँच जनासम्मको परिवारले एक वर्षको अवधिसम्म रु एकलाख बराबरको उपचार खर्च गर्न पाउने छन् भने पाँच जनाभन्दा बढी जनाको सङ्ख्या भए पालिकाले प्रतिव्यक्ति रु सात सय थप गरिदिने भएको छ ।

शिक्षा शाखा प्रमुख बन्दना गुरुङका अनुसार चापाकोट नगरपालिकामा माध्यमिक तहका १६, आधारभूत तह (१–८) का पाँच, आधारभूत (१–५) का १४ र आधारभूत(१–३) का १० विद्यालय रहेका छन् । हाल नगरका १० वडामा रहेका ४५ सामुदायिक विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेका तथ्याङ्क रहेको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?