Trending
>>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’


मङ्गलबारे,इलाम। इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ ।

उक्त गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो । यसका लागि ‘विद्यालयमा आधारित उद्यमशिलता कार्यक्रमको कार्यविधि-२०८०’ तयार गरेर विद्यार्थीले अनिवार्यरुपमा बैंकमा खाता खोल्नुपर्ने प्रावधान ल्याइएको छ भने सो पालिकाभित्रका विद्यार्थीले बैंक खाता खोलिसकेको बताइएको छ ।

त्यस्तै, विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्न सो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सो कार्यक्रममा सहभागी भएका छन् । उक्त गाउँपालिकाले प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेर काम अगाडि बढाएको हो । विद्यार्थीको सम्पूर्ण विवरण सङ्कलन गरेर बैंक खाता विद्यालयबाट नै खोलिएको जनाइएको छ ।

त्यस्तै, माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनु ठूलो कुरा रहेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ रहेको छ । उनले भने सानो उमेरदेखि नै बचत गर्ने बानीको विकास गराउन कार्यक्रम ल्याइएको हो । उसबाट बचतको संस्कार एवं वित्तीय साक्षरताको समेत विकास हुनेछ ।

विद्यार्थीको हाजिरी हेरेर उपस्थित भएको दिनको मात्र रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ भने यसले विद्यार्थीलाई विद्यालयमा उपस्थित हुन समेत हौसला मिल्ने अपेक्षा लिइएको छ । यसमा विद्यार्थीले समेत बचत गर्नुपर्ने व्यवस्था छ भने यसमा विद्यार्थीको तर्फबाट समेत दैनिक रु एक वा सोभन्दा बढी रकम बचत गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, बचत पासबुकमार्फत रकम जम्मा गरिने प्रावधान मिलाइएको छ । दैनिकरुपमा बचत गर्न चाहे पनि व्यवस्था मिलाइएको र मासिक बचत एकै पटक गर्न चाहे सोकोसमेत व्यवस्था मिलाइएको छ । उक्त कार्यक्रमबाट विद्यार्थीमा बचत गर्ने बानीको विकाससँगै बचत भएको पैसाले उच्च शिक्षामा समेत सहज हुने अपेक्षा गरिएको छ । कार्यक्रमका लागि प्राइम कमर्सियल बैंकले समेत रु दुई लाख ५० हजार बढी सहयोग गरेकोे छ ।

प्रत्येक विद्यार्थीको खाता खोल्दा बैंक खातामा रु १०० दरले जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता भएको छ भने सो पालिका भित्र ३० सामुदायिक विद्यालय छन् ।

उक्त कार्यक्रममा दुई हजार पाँच सय विद्यार्थी सहभागी भएको बताइएको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?