Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

दूध किसानका समस्या समाधान गर्न पालिकासँग माग


फिक्कल,इलाम। इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् ।

उक्त गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने समस्या समाधान गरिदिन पालिकासँग माग गरेका छन् ।

त्यस्तै, किसानले भारी लगानीमा पशुपालन गरे पनि पछिल्लो समय दूधको बजार शून्यझैँ हुँदा आफूहरू निरास हुने अवस्था आएको किसान पारस न्यौपानले बताए । “किसान दूध नबिकेर गम्भीर समस्यामा परेका छन्, यस्तो अवस्थामा स्थानीय सरकारले चासो देखाउनुपर्छ”, उनले भने ।

त्यस्तै, अर्का किसान सुमन बेघाले किसानको दूधको मूल्य घटेको मात्र नभई डेरी र चिज उद्योगले दूधको पैसा नै दिन छाडेकाले किसान थप मर्कामा परेको बताए । उनले उत्पादित घीउ, छुर्पी र चिज बिक्री नभएको भन्दै उद्योग सञ्चालकले दूधको भुक्तानी नदिएको बताए ।

किसानमात्र नभई उद्योगी र व्यवसायीसमेत मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध नजिकैको डेरी उद्योगले किन्ने गरेको छ भने डेरीले उत्पादित घीउ र छुर्पी बिक्री नभएपछि किसानलाई भुक्तानी दिन सकिरहेका छैनन् । उत्पादित दुग्धजन्य पदार्थ बिक्री नभएपछि आफूहरुसमेत मारमा परेको व्यवसायी राजेन्द्र लिम्बूले बताए ।

उक्त गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले किसानका समस्या पालिकाले गम्भीर रूपमा लिएको जनाउँदै आफूहरूले गर्नसक्ने समाधानमा सधैँ प्रतिबद्ध रहेको बताए । “किसानका सयौं समस्या छन्, पहिलो कुरा कृषि उत्पादनमै समस्या छ, त्यसपछि उत्पादित वस्तुको बजार समस्या झन् जटिल छ”, अध्यक्ष थेवेले भने, “स्थानीय सरकारले गर्नसक्ने काममा हामी सधैँ तत्पर छौँ, प्रदेश र सङ्घीय सरकारसँग लैजानुपर्ने किसानका समस्यालाई पनि सहजीकरण गरिरहेका छौँ, किसानका तर्फबाट हामीले माग राखिरहेका छौँ ।”

त्यस्तै, इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ । निजी डेरीमा मात्रै एक हजारभन्दा बढी किसानले दुग्ध बिक्री गर्दै आएका छन् । इलामका १८ चिज कारखाना, एक सय ५० छुर्पी बनाउने उद्योग र १३ दुग्ध मिठाई बनाउने उद्योग रहेको तथ्याङ्क रहेको छ भने इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दुग्ध उत्पादन हुने गरेको छ ।

होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ उन्नत जातका गाई पालिएको जनाइएको छ ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?