सुजु। मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ ।
जापानमा जनवरी १ मा गएको ७.५ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको र अन्य २२२ जना हराइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए ।
सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम वर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ ।
त्यस्तै, विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ, तर सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ ।
उनलाई उपचारका लागि अस्पताल लगिएको छ र अस्पतालमा लानु अघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको प्रहरी फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।
टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् ।
सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ ।
त्यस्तै, अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् भने जापानको मुख्य होन्शु टापूको समुद्री तटमा रहेका प्रायद्वीपमा आइतबार दिउँसोसम्ममा चिसो वर्षाको सम्भावना रहेको बताइएको छ ।
हेलीकोप्टरमार्फत् सहायता पुर्याइँदै
हजारौँ प्रहरी, सेना र अन्य उद्धारकर्मीहरूको उद्धार अभियानलाई खराब मौसमले चुनौतीपूर्ण बनाएको छ । राहत सामग्रीहरू पानी र बिजुली कटौती भएका क्षेत्रहरूमा पुग्न ढिलो भएका कारण शनिवार सम्म ३६६ वटा सरकारी आश्रय स्थलमा रहेका ३० हजारभन्दा बढी मानिसहरूको अवस्थालाई अझ खराब बनाउन सक्ने अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री फुमियो किशिदाले आइतबार एनएचकेलाई दिएको एक अन्तर्वार्तामा भन्नुभयो, “पहिलो प्राथमिकता भग्नावशेषमा रहेका मानिसहरूको उद्धार गर्नु र एकान्तमा रहेका समुदायहरूमा पुग्नु हो । सेनाले प्रत्येक पृथक समुदायमा सैनिकका स(साना समूहलाई पैदल नै प्रभावित क्षेत्रमा पठाएको उनले बताए ।
प्रभावित क्षेत्रका नागरिकलाई हवाई मार्गबाट सहयोग गर्न सरकारले ‘विभिन्न प्रहरी र अग्नि नियन्त्रक विभागका हेलिकप्टरहरू पनि तैनाथ गरेको किशिदाले बताएका छन् ।
प्रकाशित मिति: २२ पुष २०८०, आईतवार