Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

एमालेमा राष्ट्रिय सभाको उम्मेदवारका लागि कोशीबाट ७ जनाको नाम सिफारिस


विराटनगर। नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशीबाट उम्मेदवार चयनका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा कोशी प्रदेशबाट महिला १ र अन्यतर्फ १ जना सदस्य छनोट हुनेछन् । एमाले कोशी प्रदेशका पदाधिकारीको बैठकले चार जना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो ।

त्यस्तै, सिफारिस गरिएकामा झापाका उमानाथ ओली र हरिशचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घले, इलामकी रजनी मेचे तथा सुनसरीका मेचीमाया धिमाल र रुक्मिणी कोइराला रहेका छन् ।

राष्ट्रिय सभामा हाल सदस्य रहेका कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोख्रेलको पदावधि सकिँदैछ । त्यही दुई सिटका लागि ११ माघमा निर्वाचन हुन लागेको हो ।

यसअघि नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य र डिला संग्रौलासहितको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रले पनि ७ जनाको नाम सिफारिस गरेको छ भने अजम्बर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, लक्ष्मी न्यौपाने, चम्पा कार्कीलगायतको नाम माओवादीले सिफारिस गरेको हो ।

त्यस्तै, राष्ट्रिय सभाका लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी ३६७ मतदाता छन् भने सो निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।

उक्त प्रदेशमा प्रदेश सभाका ९३ सांसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरूतर्फ एमालेको २१२०, काँग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

त्यस्तै, १३७ पालिकाका २७४ मध्ये एमालेका ११०, काँग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, कांग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ छ । त्यस्तै, एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?