Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

इलामको रोङमा व्यावसायिक मौरीपालन


इलाम। इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ भने सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ ।

रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेको छ भने करिब ४० वटाका दरले पाँच वटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका उनले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए । “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उनले भने । मह बिक्री गर्न समस्या छैन । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो रु एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएको उनले बताए। उनले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आएका छन् ।

त्यस्तै, अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्छन्। तीस आधुनिक घारमा मौरीपालन पालेका राई व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताउछन् । मह उत्पादनमा गाउँपालिका नै लागि परेपछि स्थानीयले यस व्यवसायतर्फ आकर्षित भएका हुन् । मौरी पालनलाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्न कार्यक्रम नै अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताए ।

सुरुमा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि रु ११ लाख छुट्याए पालिकाले दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो । उक्त बजेटमा किसानले आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएको बताइएको छ । यसैबीच गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ‘ब्रान्ड’ बनाउने गरी योजना ल्याएको गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति गठन गरेको छ ।

त्यसैगरी, सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन गरेको छ । नौ सदस्यीय समितिको सदस्य-सचिवमा रोङ गाउँपालिका कृषि शाखाका तीर्थराज देवकोटा हुन् । सदस्यहरूमा लीलानाथ भण्डारी, मानसिंह तामाङ, दुर्गा तिम्सिना र दाबा स्याङ्बोलगायत रहेको नवगठित समितिका संयोजक लुइँटेलले बताए ।

उक्त गाउँपालिका अध्यक्ष स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेलको उपस्थितिमा तदर्थ समिति गठन गरिएको जनाउँदै संयोजक लुइँटेलले यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको बताए । वडा १ को संयोजकमा टीका नेचाली राई, वडा २ को संयोजक लीलाधर भण्डारी, ३ मा गीता अर्याल, ४ मा मानसिंह तामाङलगायत रहेका छन् ।

त्यसैगरी, चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले रु ५० लाख रकम विनियोजन गरेको छ भने सो गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको अध्यक्ष स्याङ्बोले जानकारी दिएका छन् ।

त्यस्तै, पर्यावरणीय सन्तुलन कायम गर्न मौरीले राम्रो भूमिका निर्वाह गर्दछ । यसको परागसेचनले तरकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका उपाध्यक्ष भुजेलको भनाइ छ भने मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार साथै मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने उद्देश्य गाउँपालिकाले लिएको उपाध्यक्ष भुजेलले बताए ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?