Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इलामको एकै बगानबाट दश लाखको सुन्तला बिक्री


इलाम। इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ ।

‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईँले भने । सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताए । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिँदै गएकाले चापागाईँको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ ।

‘गत वर्ष रु चार लाखमा बिकेको यस बगानमा यस वर्ष उत्पादन राम्रो छ ।’ उनले भने, ‘धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।’

त्यस्ते, कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईँको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तला खेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताए । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए ।

सो कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ कने आर्थिक वर्ष २०८०/८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तलाखेती भएको छ ।

त्यस्तै, गत आव २०७९/८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो । इलाम नगरपालिका–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नं ६ लगायत क्षेत्रमा व्यावसायिकरुपमा सुन्तला उत्पादन भएको उनले बताए ।

‘पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्’, उनले भने, ‘अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन् । किवी खेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।’

केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको बर्देवाले बताए । सुन्तलाको आम्दानीलाई नियमित बनाउन जिल्लाका किसानको मेहनत घटेको छैन । किसान चापागाईँ बिहान उज्यालो नहुँदै सुन्तला स्याहार्न पुग्छन् । साँझसम्म पनि सुन्तलाको स्याहारसुसारमै दिन बित्छ । सुन्तलामा लाग्ने कीरा नियन्त्रणका लागि उनले बेग्लै प्रविधि निर्माण गरेका छन् ।

उनको बगान हेर्दा सफाचट देखिन्छ । बेला–बेला सिँचाइसमेत गर्नुपर्छ । ‘बोटदेखि भुईँसम्म लत्रिएका दाना, देख्दै टिपौँ–टिपौँ लाग्ने सुन्तला स्याहार्दै दिन बिताउन खुब मज्जा लाग्छ’, उनले भने । बगानमा केही पुराना बोट मरे पनि नयाँ थपेको बताउँदै उनले भने, ‘एउटा उत्कृष्ट बगान बनाउन मन छ, त्यसमै लागिपरेको छु ।’

यो समय सुन्तला उत्पादनको मुख्य सिजन पनि हो । कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो रु एक सय २० देखि एक सय ५० छ,तर धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन् भने वर्षैपिच्छे बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित भएका छन् ।

यो वर्ष गत वर्षभन्दा निकै कम फल लागेको सूर्योदय नगरपालिका–३ का गणेश अर्यालले बताए। पाँच–छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेँलो हुने, भित्रभित्रै कीरा पर्ने र बोटै पहेँलो भएर सुक्ने भएपछि त्यसको उपचार गर्नै नसकिएको अर्यालको गुनासो छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका १० स्थानीय तहमा नै सुन्तलाको आंशिक खेती हुँदै आएको छ ।


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?