Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बेनी-जोमसोम-कोरला सडक : ६ पुल निर्माण अन्तिम चरणमा


म्याग्दी। गण्डकी प्रदेशको भाग्य रेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थप ६ पुल निर्माण भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र लोमान्थाङ गाउँपालिकामा चार मोटरेबल पुल सञ्चालनमा आएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । उक्त आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको अन्तिम चरणमा रहेका ती पुल सवारीसाधन आवतजावतका लागि प्रयोग हुन थालेका जानकारी दिएका छन् ।

त्यसैगरी, रघुगङ्गा-१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआईरहिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो । ‘९५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्’, उनले भने, ‘पहुँच मार्ग र संरचना बनिसकेकाले सवारीसाधनले आवतजावतमा प्रयोग गरेका हुन् ।’

बेनी-जोमसोम-कोरला आयोजनाले पाँच पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो भने थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीले रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

त्यसैगरी, लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । त्यस्तै, बीस मिटर लामो लोमान्थाङ पुलको लागत रु चार करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत रु छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत रु छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत रु छ करोड ८५ लाख हो ।

उक्त पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । योजनामार्फत १३ पक्की पुल र तीन बेलीब्रिज निर्माण सकिएका छन् । त्यस्तै, म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०-७० मिटर लामो पुल निर्माण गरेको छ ।

त्यस्तै, म्याग्दीको अन्नपूर्ण-३ स्थित रुप्से, बेनी-बगरफाँट जोड्ने काली गण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलीब्रिज निर्माण भएको हो । थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ भने सात वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुईलेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

त्यसैगरी, छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन वटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ भने सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?