Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती


इलाम। आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैंची मासिएको थियो भने मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन ।

उनका अनुसार गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो । ‘पोहोर एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैंचीखेती गरिएको थियो’, उनले भने, ‘अलैंचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।’

त्यस्तै, सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैंची लगाएका छन् । ‘वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु आठ–दश लाख बचत हुन्छ’, उनले भने । अलैंची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैंचीबाट आम्दानी लिन थालेको उनले बताएका छन् ।

उक्त जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैंची उत्पादन भएको छ भने अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । त्यस्तै, एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिएका छन् भने गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले बताए ।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैंची थियो । अलैंचीकै आम्दानीले घर खर्च चलाउन मात्र होइन जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो, तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । बिस्तारै अलैंची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन रु एक लाखसम्म पनि पुग्यो ।

त्यसैगरी, अलैंची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्‍याएको उनले बताए । ‘मेरोमा उत्पादन भएको अलैंची बाग्लुङ, पोखरा, स्याङजापट्टि पनि आपूर्ति भएको छ’, उनी भन्छन्, ‘ मैलै सधैं बिरुवा उत्पादन गरेर अलैंची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आउँदोसाल बृहत् गर्नुछ ।’ प्रत्येक एक–एक महिनामा अलैंची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैंची सप्रिएको किसानको अनुभव छ ।

घरेलु औषधि र मलको प्रयोग अलैंचीलाई महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ । दशकअघिको खेती प्रविधि सम्झँदै माइजोगमाईका अधिकारीले भने, ‘त्योबेला अलैँची त दुःख नगरी फल्दो रहेछ, जबर्जस्ती आम्दानी लिएछौं ।’ सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उनले बताए ।

उनका अनुसार जिल्लामा विगतमा जस्तै सबैतिर अलैंचीखेती भने छैन । किसानले अलैंची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल घटेको छ । जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माइजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँचीखेती भए पनि सबै स्थानीय तहमा आंशिकरूपमा खेती हुँदै आएको छ ।

त्यस्तै, अलैंचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?