Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चिसो छल्न बेँसी झर्दै भेडाका बथान


लमजुङ। चिसो बढ्न थालेसँगै चैत र वैशाखको गर्मीमा लेक पुगेका दर्जनौ भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन् । गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्‍याएका भेडाका बथान यतिबेला बेँसी आइपुगेका हुन् ।

उक्त जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेको भन्दै ती भेडीगोठका भेडा लेकबाट बेँसी आइपुगेका भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले बताए । उनका अनुसार सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् ।

त्यस्तै, हिमालको काखमै रहेको ठूले लेकमा पुगेर फर्किएको र अब गर्मीयाम सुरु भएपछि मात्र उक्त स्थानतर्फ पुनः भेडीगोठ लैजाने भेडीगोठाला कमल अधिकारीले बताए । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने उनको भनाइ रहेको थियो ।

ती भेडीगोठका बथान यतिबेला बेँसीका खेत तथा गर्हरामा रहेका छन् भने घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको स्थानीय दीर्घराज घलेले बताए । उनले घलेगाउँमा दुई भेडीगोठ रहेको जनाउँदै दुईवटै गाउँमा आइपुगेका जानकारी दिए । उनका अनुसार दुई भेडीगोठमा एक हजार बढी भेडाबाख्राका बथान रहेका छन् ।

त्यस्तै कास्कीको सिमानाडाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केहीे क्युबे–ल्हेदे हुँदै भेडीगोठ पस गाउँमै आइपुगेको छ भने सो जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी हुँदै गाउँसम्मै आइपुगको बताइएको छ।

त्यस्तै, भेडीगोठ बर्सेनि छ महिना लेक र छ महिना बेँसीमा राख्ने गर्दछन् भने लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेडी गोठालाको भनाइ थियो । पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमानाडाँडा तिङ्जेमा पुग्ने गर्दछन् ।

उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेका छन् । बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गर्दछ भने, भेडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत सामग्री बनाउने गरिन्छ भने सो जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी रू तीन सय मूल्य पर्ने गर्दछ ।

वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुने केन्द्रका प्रमुख डा. न्यौपानेले जानकारी दिए । उनका अनुसार मासु बिक्रीबाट रू आठ करोड आम्दानी हुने गरेको छ भने वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा रू ६० करोड आम्दानी हुँदै आएको उनले जानकारी दिए ।

सो जिल्लामा यतिका सङ्ख्यामा आम्दानी हुँदै आए तापनि पछिल्लो पुस्ताको बेवास्ता हुँदा परम्परागत रुपमा रहेको भेडीगोठ नै लोपहुने अवस्थामा पुग्न थालेको छ भने जिल्लामा रहेको अधिकांश गुरुङ बस्तीका समुदायमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम रहेको छ ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?