Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’


वीरगञ्ज,पर्सा। बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँ खेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष गहुँ खेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ

कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लालाई पठाइसकिएको छ ।

‘गहुँबाली छर्ने बेलामा किसानलाई डिएपी मल चाहिने हो’, उनले भने, ‘हामीले प्राप्त भएको डिएपी मल जिल्लाजिल्लामा कोटाअनुसार पठाइसकेका छौँ ।’ गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा अर्थात् तीन सातापछि युरिया मल चाहिने हो, त्यो केही दिनभित्रै आइपुग्छ’, उनले भने ।

‘ करिब ३६ हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ’, प्रमुख पाण्डेयले भने, ‘युरिया मल यही डिसेम्बर २६ तारिकसम्ममा भारतको कोलकता आइपुग्ने र त्यसको केही दिनभित्रै वीरगञ्ज आइपुग्छ भन्ने हामीलाई सूचना प्राप्त भएको छ ।’ त्यो मल आइसकेपछि गहुँ खेतीका लागि मलको कुनै समस्या हुँदैन, उनको भनाइ रहेको छ, तर आउन लागेको भनिएको युरिया मल समयमा नआए पुनः रासायनिक मलको हाहाकार हुन सक्छ ।

त्यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा युरिया १५ हजार आठ सय ९४ मेट्रिक टन, डिएपी १९ हजार दुई सय १३ मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ । पुरानो आल्या र चालु आर्थिक वर्ष २०८०/८१ मा प्राप्त मलमध्ये हालसम्म डिएपी १६ हजार २३ मेट्रिक टन, युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन र पोटास एक हजार पाँच सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लामा पठाइएको प्रमुख पाण्डेयले बताए ।

हाल युरिया एक सय ५१ मेट्रिक टन, डिएपी तीन हजार आठ सय ६७ मेट्रिक टन र पोटास ५७ मेट्रिक टन गोदाम मौज्दात रहेको उनको कथन रहेको छ । अबको एक महिनाभित्रमा डिएपी २५ हजार मेट्रिक टन मल आउने निश्चित भएको प्रमुख पाण्डेयले जानकारी दिए । रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त भएलगत्तै मलखाद्य बाँडफाँड भएअनुसार जिल्लाजिल्लामा मल पठाउँदै आएको उनले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा अघिल्लो आर्थिक वर्ष २०७९र८० मा आएको युरिया ५५ हजार दुई सय ९७ मेट्रिक टन, डिएपी ३० हजार सात सय ६१ मेट्रिक टन मलमध्ये युरिया ४४ हजार चार सय ८८ मेट्रिक टन, डिएपी २६ हजार ६ सय ६ र पोटास एक हजार सात सय ३१ मेट्रिक टन रासायनिक मल जिल्लाजिल्लामा वितरण गरेको छ ।

सो अवधिमा पर्सा जिल्लामा मात्र युरिया चार हजार सात सय ७० मेट्रिक टन, डिएपी दुई हजार नौ सय ४३ मेट्रिक टन र पोटास चार सय चार मेट्रिक टन मल बिक्री गरिएको प्रमुख पाण्डेयको भनाइ छ ।त्यस्तै, मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उनले बताएका छन् ।

सो कार्यालयमार्फत मधेस प्रदेशको आठ वटै जिल्ला, बागमती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लमजुङ, गोरखा, कास्की, पर्वतलगायत जिल्लामा रासायनिक मल पठाउँदै आएको छ । बर्सेनि डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मल खाद्यको समस्या हुने गरेको किसानको गुनासो छ ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?