Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नगरसभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन


सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिका– २ मा निर्मित पन्ध्र शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढवर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।

उक्त अस्पताल सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएर पनि सेवा लिन अन्यन्त्र जानुपरेको हरिपुर्वावासी रामविनय यादवले गुनासो गरे । उनका अनुसार सामान्य बिरामी पर्दासमेत उपचारका लागि लालबन्दी, मलङ्गवा, बर्दिवास, जनकपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता छ । “गाउँमै यति ठूलो अस्पताल भवन बनेको छ तर सञ्चालन गर्न जनप्रतिनिधिले चासो नदेखाएका कारण आमनागरिक सामान्य बिरामी पर्दा पनि टाढा टाढासम्म धाउनुपर्ने बाध्यता छ ।”

अस्पताल भवन निर्माणका लागि सोही स्थान निवासी विनोद साहले १० कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउनु भएको थियो । सोही जमिनमा निर्माण भएको १५ शय्याको अस्पताल भवन अहिले अलपत्र परेको छ भने निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेपिरहेका जग्गादाता साहले बताए । “गाउँमा धेरैको अकालमा मृत्यु भएको र महिलालाई प्रसूति गराउन जनकपुर वा काठमाडाैं धाउनुपर्ने बाध्यता देखेर गाउँमै अस्पताल निर्माण होस् भनी जग्गा दिएँ, अस्पताल पनि निर्माण भयो तर प्रयोगमा आउन सकेन् ,”साहको गुनासो थियो ।

राजनीतिक विवादले नगर अस्पताल भवन निर्माण हुन करिब १० वर्ष लागेको थियो भने निर्माण भएपछि पनि सञ्चालन हुनसकेको छैन । राजनीतिक खिचातानीका कारण अस्पताल अलपत्र परेपछि गाउँवासी महँगो एम्बुलेन्स शुल्क तिरेर अन्यत्र जान बाध्य भएका वडाध्यक्ष दिनेशराय यादवले बताए ।“यहाँ कोही आकस्मिक बिरामी परेर उपचार गर्न एम्बुलेन्समा जनकपुर जानुपर्दा रु पाँच हजार, काठमाडाैं जाँदा रु १६ हजार र मलङ्गवा जाँदा रु तीन हजार भाडा तिर्नुपर्छ, कमसेकम निर्माण भएको अस्पताल प्रयोगमा आए स्थानीयवासीलाई त्यति सास्ती हुने थिएन् ।”उनले भने ।

उक्त अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्ष मै रु एक करोड बजेट विनियोजन गरे पनि नगरका जनप्रतिनिधिले सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेमाथि  दुर्व्यवहार  गरिएकाले अस्पताल सञ्चालनमा आउन समय लागेको नगरप्रमुख विनोदकुमार साह तेलीले बताए । उनले चालु आ.व.मा नगरसभा नै नभएर बजेट पारित नभएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वीकार गरे ।

“बजेट आउनासाथ चिकित्सकको व्यवस्था गरी अस्पताल सञ्चालन गर्ने योजना छ,”नगर प्रमुख साहले भने,“प्रमुख प्रशासकीय अधिकृत नभएर चालु आर्थिक वर्षको नगरसभा गर्न नपाइएका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन पाइएन ।” करिब १५ महिनाको अन्तरालमा सात प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसक्दा पनि चालु आर्थिक वर्षको नगरसभा हुनसकेको छैन् ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?