Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बालबालिकाका नाममा खुला पत्र


-अभि सुवेदी

प्यारा भाइबहिनीहरु,
नमस्कार !

तिमीहरू के राम्रो, के नराम्रो छुट्याउन सक्ने भएका छैनौ । त्यसैले ठुलाको अर्ति र उपदेश ध्यानपूर्वक सुन्ने र अनुशरण गर्ने गर्नुपर्छ । कहिलेकाहीँ त्यस्ता सल्लाहहरू दिक्कलाग्दा पनि हुन सक्छन् तर, त्यस्ता उपदेशमा जीवन बदल्न सक्ने शक्ति र सामर्थ्य लुकेका हुन्छन्

हामी सबैको पहिलो गुरु आमा हुन् । उनको अर्ति सधैं शिरोपर गर्नुपर्छ । म पनि मेरी आमाको प्रेरणाले यहाँसम्म आइपुगेको हुँ । त्यहि प्रभावले आज पनि झण्डै ४६ वर्षदेखि मैले विश्वविद्यालयमा पढाएका संसारभर छरिएका मेरा विद्यार्थी र इष्टमित्रको मायामा रमाइरहेको छु । समाजमा अनेक खाले मान्छे बस्छन् । कोहि गलत बाटोमा हिँडिरहेका हुन्छन् । ति गलत मानिसको संगत गर्नुहुँदैन । असल मित्र बिस्तारै थपिँदै जान्छन् ।

म पूर्वी नेपालको तेह्रथुम जिल्लाको साब्लाखुमा २००२ सालमा जन्मिएँ । मेरो बाल्यकाल र अहिले तिमीहरू हुर्कँदै गरेको समयमा धेरै फरक छ । हाम्रो पालामा पढ्ने किताबसम्म हुँदैनथे । खरीले कालो पाटीमा लेख्नुपथ्र्यो । अहिले तिमीहरूले पाउनेजस्ता थरिथरिका शैक्षिक सामाग्री कहाँ थिए र ? त्यतिबेला आजको जस्तो कम्प्युटर,मोवाइल,टेलिभिजनको कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो। मेरो समयमा पढ्ने सामान नपाएर हैरान हुन्थ्यो, अहिले छान्न नजानेर समस्या थपिएको छ।

लगातार टेलिभिजन हेरेर बस्नु राम्रो होइन । टेलिभिजन हेर्न निश्चित समय छुट्याउनुपर्छ । टिभीमा के हेर्ने भन्नेबारे आफुभन्दा ठुलासँग सल्लाह गर्नुपर्छ । बहादुरीका कथा,दया र कल्याणका कथा हेर्नुपर्छ। संयोगान्त कथाहरू हेर्नुपर्छ । धर्मका विषयमा चाख लाग्छ भने अभिभावकसँग बसेर महाभारत हेर्ने गर्‍यो भने तिमीहरूको ज्ञानको दायरा बढ्छ । कोठाभित्र एक्लै कम्प्युटर र मोबाइलमा गेम खेलेर बस्नु स्वास्थ्यका दृष्टिले पनि भयानक हुन्छ । खेल्दा समुह बनाएर खेल्नुपर्छ । प्रकृृति पनि एउटा पाठशाला हो । त्यसकारण घर र विद्यालय हाता बाहिरको वातावरण बारे पनि ज्ञान हुन उत्तिकै जरुरी छ। कुनै पनि काम जानेर बेफाइदा हुँदैन । तिमीहरूले सिकेको कुरा संस्कार भयो भने मात्रै उपयोगी हुन्छ ।

किताबमा भएका कविता भाका हालेर पढ्न सिक्नुपर्छ । कविता कण्ठस्थ पार्ने बानीको विकास सानैदेखि भयो भने ठुला कक्षामा जस्तोसुकै सुत्र पनि हाउगुजी लाग्दैनन् । तिमीहरूसँग भेट भएका बखत मैले सानैमा पढेका कविताहरू सुनाउँला । अक्षरहरू सफा र चट्ट पारेर लेख्ने गर्नुपर्छ, यो जीवनभर काम लाग्ने हुन्छ । भाषामा दख्खल राख्नुपर्छ ।

पैसा फुरमास गर्ने बानी पटक्कै राम्रो होइन नि ! दक्षिणा, उपहार आदी बाट प्राप्त रुपैयाँ, खेलौना, लुगाकपडा जस्ता सामानमा भरसक खर्च गर्नु हुँदैन । त्यसलाई जोगाएर किताब किन्ने बानीको विकास गर्नुपर्छ । भविष्यमा एउटा ठुलो लाइब्रेरी आफ्नै घरमा बनाउँछु भन्ने अठोट लिएर अघि बढे सम्भव हुन्छ । किताबहरू जहिले पनि काम लाग्छन् । मेरो लाईब्रेरीमा म आफैँले लेखेका, विश्वविद्यालयमा पढाएका र अन्य हजारौं देशी-विदेशी किताब छन्। मैले घरैमा पढ्न शुरु गर्दा मेरी आमाले भेला गरिदिनुभएका किताब पनि मेरो घरको लाइब्रेरिमा छन् । आजकल मेरो कोठा कक्षाकोठा जस्तै भएको छ । रिटायर्ड लाइफमा किताबहरू मेरा गुरु र साथी भएका छन् ।

तिमीहरूको उमेर जीवनको सुरुवाती अवस्था हो । यस्तो उर्जाशील समयमा कुनै पनि कुराले दुखी र विचलित हुनु हुँदैन । हामीले आफ्नो समयमा केहि नयाँ र असल काम गर्न सक्यौं भने मात्र यो क्षणभङ्गुर जीवनले सार्थकता पाउँछ । तिमीहरूले नराम्रो र असजिलो लागेका कुराहरू नजिकका दौँतरी, अभिभावक र नातेदारलाई सुनाएर समाधान गर्नुपर्छ । आफ्नो रुची खुलस्त भन्नुपर्छ । कहिलेकाहीँ अभिभावकको मात्र चाहना र करकापले गरेको कामले सही परिणाम नदिन पनि सक्छ ।

तिमीहरूलाई माया गर्ने,
अभि सुवेदी


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?