Trending
>>   पहाडी भू-भागका एक-दूई स्थानमा वर्षा र तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने >>   आज मिति २०८१ साल मङ्सिर ०१ गते शनिबार , हेर्नुहोस आजको राशिफल >>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

रामेछापका किसानलाई जुनार बेच्न भ्याइनभ्याइ


रामेछाप। रामेछाप नगरपालिका-६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उनले बताएका छन् । तामाङले भने- ‘बजारको समस्या छैन ।’ व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उनको भनाइ रहेको छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन् । मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ रहेको छ ।

त्यस्तै, सुन्तला बगैँचाबाटै प्रतिकिलो रु एक सय र जुनार प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ भने पहेँलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताएका छन् । रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ । यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो ।

जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन् । त्यस्तै, जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताए । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ । गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो ।

केही वर्ष यहाँको जुनारमा फल कुहाउने औँसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो । थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे । यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताएका छन् । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ । उनका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ ।

उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रूपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताए । त्यस्तै, अघिल्ला वर्षमा बोटमा भन्दा भुईँमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताए । फल कुहाउने औँसाबाट जुनार जोगाउनका लागि १० पटकसम्म विषादी छरेको उनको भनाइ छ ।

जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो । रामेछाप नगरपालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोग किरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन् । विगतका वर्षहरूमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउँछन् ।

रामेछापको ओख्रेनी र सुका जोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषि उपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउँछन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?