Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित


ढोरपाटन,बागलुङ। बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ ।

त्यसैगरी, बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशक अघि बुर्तिबाङ बजार सानो थियो भने फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । सो नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ ।

उक्त बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्‍याउँछ । फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०६७/६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् भने सो खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ । फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ ।

उक्त खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ रहेको छ । वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउछन् भने हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ रहेको छ ।

त्यसैगरी, बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व बढ्दै गएको छ,तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन । सबै फोहर खोलाले बगाएर जताततै पुर्‍याउँछ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताए । उक्त आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ रहेको छ भने जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास रहेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?