Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विदेशबाट फर्केर सामूहिक माछा पालन


गलेश्वर,म्याग्दी। वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछा पालन गरेका छन् ।

त्यस्तै, स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका-३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछा पालन थालेका हुन् । उक्त सामूहिक माछा पालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ । पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछा पालनमा लागेका हुन् । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उनीहरूले सामूहिक रूपमा ट्राउट जातका माछा पालेका छन् ।

त्यस्तै, रु २० लाख लगानीमा माछा पालनका लागि १० पोखरी निर्माण गरिएको पूर्णले जानकारी दिए। २०७९ कात्तिकदेखि मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछा पालन व्यवसाय सुरु गरिएको उनले बताएका छन् । ‘सुरुमा रु आठ लाखको लगानीमा छवटा पोखरी ९रेसवे० निर्माण गरी माछा पालन थालनी गर्‍यौँ । अहिले १० पोखरी निर्माण गरेका छौँ’, उनले भने ।

गण्डकी रेन्बो ट्राउटबाट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको जनाउँदै पूर्णले करिब नौ महिनामा माछा बिक्रीका लागि तयार हुने बताए । अहिले पोखरीमै भुरा उत्पादन हुने भन्दै १२ हजार बढी माछा हुर्किरहेका उनले जानकारी दिएका छन् । पूर्णका अनुसार पहिलो वर्ष सात सय केजी बढी माछा बिक्री भएको थियो भने यस वर्ष दुई हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

त्यसैगरी, पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा लगाइएको बताउँदै उहाँले यस वर्षदेखि राम्रो आम्दानी लिन सकिने बताए । माछा पालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ थियो । वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने तेजेन्द्र सुनाए। यहाँ उत्पादित माछा नजिकैको दरबाङ बजारसहित सदरमुकाम बेनी र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उनले बताएका छन् ।

पहिलो वर्ष प्रतिकेजी रू एक हजार दुई सयमा बिक्री गरिएकामा यस वर्ष भने दानाको मूल्य बढेकाले रू एक हजार तीन सयमा बेच्ने गरिएको तेजेन्द्रले जानकारी दिए। बजारमा माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको उनको भनाइ थियो । उनीहरूले टिमुरेमा सामूहिक रूपमा आफ्नै रेष्टुराँ पनि सञ्चालन गरेका छन् भने पोखरीमा उत्पादित माछा रेस्टुराँमा समेत खपत हुने गरेको माछापालका यमेन्द्रले जानकारी दिए । माछा पालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उनको भनाइ थियो ।

त्यसैगरी, आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछा पालन सुरु गरिएकाले फर्ममा परिवारका अन्य सदस्यलेसमेत साथ दिएको यमेन्द्रले बताएका छन् । मालिका-३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाको लगानीमा व्यावसायिक माछा पालन गरेसँगै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताए । उनका अनुसार वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरिपरि घेरबार गरिएको छ ।

त्यस्तै, सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो प्रक्रिया भएको भन्दै वास्तविक किसानसँग अनुदान पुग्न नसकेको माछापालक रोकाले गुनासो गरे । आगामी दिनमा यस व्यवसायलाई अझै विस्तार गर्ने सोच रहेको उनले बताएका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?