Trending
>>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

मुग्लिन पोखरा सडक: नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र


दमौली। मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र गरिएको हो ।

त्यस्तै, पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उनले भने, “दुई ठाउँमा एकातर्फी रुपमा नौ किलोमिटर खण्ड कालोपत्र सकिएको छ भने केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।”

सडक आयोजनाले गत असारमा आँबुखैरेनीको बरादीमा सडक कालोपत्र गरेकामा नाहाला खण्डमा तिहारका बेला कालोपत्र गरेको थियोे । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१दशमलव४५ किमी रहेको छ भने आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रको काम थालिएको छ । इन्जिनियर पाण्डेका अनुसार पहिला कालोपत्र भइसकेको बरादीसम्म मार्कीचोकदेखि कालोपत्र थप्ने काम थालिएको छ । उनले भने, “यस अगाडि बरादीमा कालोपत्र भएको ठाउँमा जोड्ने गरी मार्कीचोकदेखि काम सुरु भएको छ भने सवारी साधनको आगमनलाई ध्यानमा राखेर अहिले एकतर्फी मात्रै कामहरु भइरहेको छ ।”

त्यसैगरी, पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ भने आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको इन्जिनियर पाण्डेको भनाइ रहेको थियो । पूर्वी खण्डमा सडक फराकिलो बनाउने र पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ भने यो खण्डमा हालसम्म ३८ प्रतिशत काम सकिएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो भने ४१दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

त्यसैगरी, पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ भने पश्चिम खण्डको काम भने सुस्त छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ भने चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ ।

त्यस्तै, बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ भने दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?