Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

पूर्वाधार कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन


पर्वत। पर्वत जिल्लाको भौतिक विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालय तीन वर्षदेखि प्राविधिकविहीन बनेको छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेवल तथा झोलङ्गे पुल, ग्रामीण सडक स्तरोन्नतीका साथै खेलमैदान निर्माणलगायत एक सय ७२ योजना प्रभावित बनेका छन् ।

उक्त कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन बनेको जनाउँदै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेकामा पाँचौँ र छैटौँ सहायक प्राविधिक दुई जनामात्र कार्यरत रहेका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । उनका अनुसार सातौँ र आठौँमा तीन प्राविधिकको दरबन्दी रहेकामा अहिले एकजना पनि कार्यरत छैनन् । त्यस्तै, सातौँ र आठौँका तीन पद पदविहीन रहेका अधिकारीले जानकारी दिए भने प्राविधिक जनशक्तिको अभाव भएकाले चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका उनको भनाइ रहेको थियो ।

“जिल्लाको ग्राभेल तथा माटे सडक, झोलुङ्गे तथा मोटरेवल पुल लगायत निर्माणका गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इन्जिनियरको दरबन्दी तीन जनाको हो । अहिले एक जना पनि छैनन्”, अधिकारीले भने, “सब–इन्जिनियर अधिकृतस्तर पाँचौँ र छैटौँको सात दरबन्दी छन् । अहिले कार्यरत सङ्ख्या जम्मा दुई छ ।” दरबन्दी अनुसारको कर्मचारी नभएपछि कामको अत्यन्तै चाप रहेको उहाँको भनाइ थियो ।

त्यस्तै, सीमित जनशक्तिका कारण सबै योजनाको विस्तृत लागत तयार, योजनाको डिपिआर निरीक्षण, योजनाको मूल्याङ्कनलगायत काममा अत्याधिक भार परेको बताउँदै कतिपय योजनामा प्राविधिककै कारण ढिलाइ हुने गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार योजनाका काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति रू एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म दिनेगरी प्राविधिक सुपरभाइजरको रुपमा तीन जना सब–इन्जिनियरलाई काममा लगाइएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नुपरेको अधिकारीको भनाइ थियो । उक्त कार्यालयमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ दरबन्दी भए पनि अहिले कार्यालय सहयोगीसहित आठ जना मात्रै कार्यरत रहेका उनले जानकारी दिए । उक्त कार्यालयमार्फत अहिले पर्वतमा नौ बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार मोटरेवल पुल बन्दै छन् ।

त्यसैगरी, चार मोटरेवल पुलमध्ये लिदी खोलाअन्तर्गत राम्जा र छत्तीसेघाट सडकअन्तर्गत पैयूँ गरी दुई पुल निर्माणाधीन छन् भने अन्य दुई सडक तथा पुल ठेक्का प्रक्रियामा गइसकेको कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालयअन्तर्गत यसवर्ष साना र ठूला गरी एक सय ७२ भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् भने यसवर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा रू एक अर्ब पाँच करोड रकम विनियोजन गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

उक्त प्रदेश सरकारअन्तर्गत कार्यालय स्थापना भएपछि पर्वतमा अहिलेसम्म ८१.३७ किमी पक्की सडक निर्माण भएको छ भने ३४.७ किमी सडक ग्राभेल गरिएको कार्यालयले जनाएको छ । दरबन्दी अनुसारको जनशक्ति अभावमा तोकिएअनुसारको काम गर्न समस्या भएको अधिकारीको भनाइ थियो ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?