Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

अलपत्र घुमाउने पुलको काम पुनः थालियो


दमौली। लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र भरतपुर महानगरपालिका-१ स्थित त्रिशूली नदीमा सो पुल बनाउन थालिएको थियो ।

तिहार सकिएलगत्तै पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि सुवास उप्रेतीले भने, “विगतमा विविध कारणवश पुलको कामले गति लिन सकेन, अहिले पुल निर्माणका लागि कामदार परिचालित भएका छन् । जतिसक्दो चाँडो सक्छौँ ।” त्यस्तै, केही समय अगाडि मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर बनेको थियो भने उक्त ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एक पटक सम्झाएको थियो ।

समयमै पुल बनेको पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंमार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न सजिलो हुने बताइएको छ । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे, आँबुखैरेनी नभई बुद्धसिंमार्ग भएर उक्त पुल तरेर भरतपुर महानगरपालिकाको घुमाउने निस्किन पाउँने जनाइएको छ । नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्रै ठडिएको छ भने यो पुल निर्वाचनका बेला पनि चर्चामा रह्यो । उम्मेदवारले पुल निर्माण चाँडै सम्पन्न गराउनेतर्फ आफूहरू लाग्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त पुल निर्माण चाँडै सम्पन्न गराउनका लागि तनहुँका जनप्रतिनिधिले निरन्तर चासो लिँदै आएका थिए । सो पुल निर्माण नौ वर्षदेखि अलपत्र छ । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशतमात्रै काम भएको छ भने सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिनसकेको छैन । त्यसैगरी, एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाखे छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । त्यस्तै, पृथ्वीराजमार्गको विकल्पका रूपमा रहेको बुद्धसिंमार्ग कालोपत्रका लागि प्रारम्भिक काम सुरु भइसकेको छ भने कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंमार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुने बुद्धसिंमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बाँस्तोलाको भनाइ रहेको छ ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?