Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

दुई बालिकासहित तीनको उद्धार


१२ ,मङ्सिर ,काठमाडौँ । रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखन भएको घटना बाहिर आएको छ ।

काठमाडौँ महानगरपालका–९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उक्त सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले नाबालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुका साथै उक्त स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको ब्यूरोले आज सार्वजनिक गरेको छ । उनीमाथि मानब बेचविखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ ।

पक्राउ प्रतिवादीले काठमाडौँको रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा उक्त स्पामा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्यूरोले जनाएको छ ।

स्पा सेन्टरमा काम गर्ने युवतीलाई मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको तथा नमानेमा शारीरिक तथा मानसिक यातनासमेत दिने गरेको खुलेको पङ्गेनीले बताए ।

पुरुषसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफूसँग सुरक्षित रहेको र भने अनुसार नगरेमा÷नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने भनी डर त्रासमा पार्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ ।

उद्धार भएका युवतीमध्ये दुई जना नाबालिका रहेका छन् । युवतीलाई जबरजस्ती यौन व्यवसायमा लगाई निज स्पा सेन्टरका सञ्चालक पौडेलले आर्थिक लाभ लिने गरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?