Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

भोजपुरमा पूर्ण सरसफाइ अभियान


११ ,मङ्सिर ,भोजपुर । भोजपुर जिल्लामा पूर्ण सरसफाइको दोस्रो चरणको अभियानको सुरुआत गरिएको छ । यसअघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको भए पनि सरसफाइको थप निरन्तरताका लागि सो अभियान थालनी गरिएको हो ।

यस वर्षबाट खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले दोस्रो चरणको पूर्ण सरसफाइ अभियान अघि बढाएको छ ।

सरसफाइको कार्यक्रमलाई निरन्तरता दिनका लागि स्थानीय तह तथा अन्य सरोकारवाला पक्षलाई पूर्ण सरसरफाइसम्बन्धी तालिम दिइएको छ ।

कार्यालयले विगतमा भएका कामको निरन्तरतास्वरुप पुनः सरसफाइको कार्यक्रम अघि बढाएको हो । खुला दिसामुक्त भएपश्चात जिल्लाको सरसरफाइको अवस्थाबारेमा स्थानीय तहसँगको सहकार्यमा आवश्यक तथ्याङ्क सङ्कलन गरेर सोहीअनुरुप भावी कार्यक्रमलाई अघि बढाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले जानकारी दिए ।

कार्यालयले खानेपानी आयोजना सञ्चालनपूर्व स्थानीयको शौचालयको प्रयोगसँगै सरसफाइको अवस्थाबारे आवश्यक सूचना सङ्कलन गरिरहेको उनको भनाइ छ ।

“हामीले खानेपानी योजनासँगै सरसफाइका कार्यक्रमलाई पनि एकसाथ अघि बढाएका छौँ”, उनले भने, “यसअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको भए पनि त्यसयता स्थानीय नागरिकको सरसफाइको अवस्थाबारेमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यहाँको सरसफाइलाई ध्यानमा राखेर पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।”

विसं २०७६ असोज ४ गते भोजपुर पूर्ण खुला दिसामुक्त घोषणा भएयता पहिलोपटक सरोकारवाला पक्षलाई समेटेर पूर्ण सरसफाइको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सरसफाइ निरन्तर गरिने प्रक्रिया भएकाले पुनः अभियानलाई निरन्तरता दिन सरोकारवाला पक्षलाई तालिम दिइएको प्रमुख सिंहको भनाइ छ ।

“सरसफाइ निरन्तर गरिने प्रक्रिया हो”, उनले भने, “एकपटक घोषणा गरेरमात्र यसले पूर्णता पाउने होइन । यहाँका ८१ वटै वडाको सरसफाइको अवस्था बुझेर थप कार्यक्रम बढाउने लक्ष्य छ ।”

जनताको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य र सरसफाइ भए पनि राज्यले यसलाई कम प्राथमिकतामा राखेको प्रमुख सिंहले बताए । नागरिकको स्वस्थ्यसँग सरोकार राख्ने सरसफाइका लागि बजेट विनियोजन गर्दा विषेश ध्यान दिनुपर्ने उनको भनाइ छ ।

“मानिसको महत्त्वपूर्ण पक्ष भनेको सरसरफाइ हो”, उनले भने, “तर सरसफाइको पक्षमा प्राथमिकताका साथ बजेट विनियोजन भएको अवस्था छैन । नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरसफाइको क्षेत्रमा प्राथमिकताका साथ काम गर्न आवश्यक छ ।”

मानव जीवनको महत्त्वपूर्ण पक्ष सरसफाइ रहेकाले यो विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

जिल्लामा दोस्रो चरणमा सुरु भएको सरसफाइ अभियानलाई पूर्णरूपमा कार्यान्वयनका लागि स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

सरसफाइ कार्यक्रम सरकारी कार्यालय, होटल, सार्वजनिकस्थल लगायतमा पनि सञ्चालन गर्न सके अझ प्रभवाकारी हुने सहभागीले बताएका छन् ।

नेपाल जनस्वास्थ्य संस्थाको सहजीकरण र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आयोजनामा भएको तीनदिने पूर्ण सरसफाइसम्बन्धी कार्यक्रममा विभिन्न क्षेत्रका २९ जनाले सहभागिता जनाएका छन् ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?