Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

स्याङ्जाका किसानको आलु कम्पनीले सिधै खरिद गर्ने


वालिङ,स्याङ्जा। स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताएका छन् । त्यसैगरी स्याङ्जामा पहिलोपटक यो कार्यक्रम लागू भएकाले अहिले किसान खेतमा आलु लगाउन ब्यस्त छन् । “यसपटक जिल्लाका विभिन्न आठ पालिकाका २८ समूह सहकारीमार्फत एक हजार सात सय रोपनी क्षेत्रफलमा आलु लगाउँदै हुनुहुन्छ”, उनले भने, “ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट प्रमाणित भएका खुमल उज्जल, खुमल विकास, जनकदेव जातको आलु लगाउने काम भइरहेको छ ।” त्यस्तै, छनोट भएका २८ समूह सहकारीलाई कार्यालयले बीउ खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने उनले बताए । यन्त्र उपकरण खरिदका ५० देखि ७५ प्रतिशत तथा सङ्कलन केन्द्र, प्रशोधन कक्ष, सिँचाइलगायतका पूर्वाधार निर्माणका लागि ८५ प्रतिशतसम्म किसानले अनुदान पाउने छन् । “समूह सहकारीमार्फत उत्पादन भएको आलु बजारमा चलनचल्तीको दरबमोजिम कम्पनीले खरिद गर्ने सम्झौता भएको छ”, उनले भने, “यहाँ उत्पादन भएको आलुको सहज बजारीकरण हुने भएको छ ।” किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी रु दुई प्रोत्साहन रकम अनुदान उपलब्ध गराउने उनले बताए । आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले बताएका छन् ।

त्यसैगरी आलु लगाउनुपूर्व नै बजारको सुनिश्चितता भएपछि अहिले समूह सहकारीहरू आलुखेतीको विस्तारमा लागेको उनले बताए । “गण्डकी प्रदेश सरकारले अगाडि सारेको यो कार्यक्रमले उत्पादन, प्रशोधन र बजारलाई जोड्ने मुख्य उद्देश्य रहेको छ”, उनले भने, “आगामी वर्षमा यसले थप व्यावसायिक उत्पादन र क्षेत्र विस्तारमा सहयोग पुग्ने देखिन्छ ।” खुमल उज्जल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनियामा रहेको फस्ट च्वाइस फुड्स प्रालिले खरिद गर्ने सम्झौता भएको कम्पनीका आलु बाली विशेषज्ञ श्याम ढकालले बताए । त्यस्तै, स्याङ्जाका ११ पालिकामध्ये आठ पालिकाका २८ समूह सहकारी यस अभियानमा जोडिएका छन् भने आलु उत्पादनका दृष्टिले पकेट क्षेत्र मानिएको भिरकोट नगरपालिका–५ को पकानमा रहेको पकान आइपिएम कृषक समूहमा आबद्ध ३२ जनालाई अहिले सम्झौतानुसार आलु लगाउन भ्याइनभ्याई छ । सो सम्झौता भई कार्यक्रम लागू भएका स्थानमा अहिले किसान खेतमै व्यस्त देखिन्छन् भने बजारको सुनिश्चितता पहिले नै भएकाले अहिले किसान आलु लगाउन निकै उत्साहित र सक्रिय भई लागेका समूहका अध्यक्ष शिवप्रकाश अर्यालले बताए ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?