Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

थानीमाई मन्दिरमा २०० डोली फूल भित्रिए


तनहुँ। जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा झण्डै दुई सय फूलको डोली भित्रिएका छन् । गत कात्तिक महिनादेखि आज मङ्सिरको पहिलो मङ्गलबारसम्म एक सय ९७ वटा फूलको डोली भित्रिएका हुन् । त्यस्तै, मनोकाक्षा पूरा हुने आस्थाका साथ देशका विभिन्न ठाउँबाट आएका भक्तजनले कात्तिकको पहिलो मङ्गलबार ७०, दोस्रो मङ्गलबार ९१ र मङ्सिरको पहिलो मङ्गलबार ३६ वटा फूलको डोली भित्रिएको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए । कात्तिकको दुई मङ्गलबार दसैँ र दीपावली परेकाले फूलको डोली नभित्राइएको उनले बताए । मङ्सिरको पहिलो मङ्गलबार तीन हजार दुई सय चालिस भक्तजनले पूजाअर्चना गरेकामा सोमबार राति तीन सय पाँच जनाले बत्ती बालेर रातभर जाग्राम बसेका थिए । त्यसैगरी कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्छ भने मन्दिरमा फूलको डोली चढाउदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार सत्यनारायणको पूजा गरी डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघमा भक्तजनको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौंलगायतबाट भक्तजन आउँछन् । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका अन्य दिनमा पूजाअर्चना हुने मन्दिरका पुजारी श्याकुमार थापाले जानकारी दिए ।

उनीसहित, कृष्णबहादुर आले र कृष्णबहादुर खुलाल गरी तीन पुजारीले मन्दिरमा पूजा गर्दै आएका छन् । पछिल्ला वर्षमा थानीमाई पुग्न सडक निर्माण गरिएको छ भने सडक निर्माण भएसँगै भक्तजनको सङ्ख्या बढ्न थालेको छ । भक्तजनले फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् । परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ भने त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ । त्यस्तै, समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशङ्खला देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको सो मन्दिर पुनःनिर्माण गरिएकोे छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाखबाट उक्त मन्दिर पुनःनिर्माण गरिएको थियो ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?