Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बूढीगण्डकी आयोजनाः निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गरिँदै


१ ,मङ्सिर ,काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गर्नका लागि आवश्यक छलफल सुरुआत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सो आयोजनाको निर्माण प्रक्रियाका लागि आवश्यक काम सम्पन्न गर्न निर्देशन दिनुभए पछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक छलफल थालेको हो । सो आयोजनाको कूल क्षमता एक हजार दुई सय मेगावाट बराबर छ ।

आयोजनाका लागि नै खर्च हुने गरी मन्त्रिपरिषद्ले हालै पेट्रोलियम पदार्थ आयातका क्रममा भन्सार विन्दुमा नै प्रतिलिटर रु पाँच बराबरको शुल्क लिने गरी निर्धारण गरेको छ । यस्तै, मुआब्जा वितरणको कामसमेत अन्तिम चरणमा पुगेको छ । सरकारले चालु आवमा नै सो आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ ।

आयोजना निर्माणका लागि वित्तीय तथा निर्माण ढाँचाका सन्दर्भमा तत्काल टुङ्गो लगाउने उद्देश्यका साथ आज मन्त्रालयमा छलफल भएको हो । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले शेयर संरचनाको विषयमा तत्काल टुङ्गो लगाएर ल्याउन बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठलाई निर्देशन दिए ।

यस्तै, आन्तरिक लगानीका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था, नेपाल टेलिकमलगायतका सङ्घ संस्थासँग पनि तत्काल छलफल गरी कुन निकायले के कति लगानी गर्नसक्ने अवस्था छ त्यसको निक्र्योल गर्न निर्देशन दिए ।

यस्तै, आयोजना व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता चयन तथा परियोजना व्यवस्थापकको प्रबन्ध गर्न निर्देशन दिएका छन् । आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने सरकारको तयारी छ ।

हालसम्म वितरण भएको मुआब्जालाई सरकारी लगानी मानेर आयोजनालाई लगानीयोग्य बनाउने कि वा अरु कुनै विकल्प तय गर्ने भन्ने बारेमा निष्कर्ष निस्कन भने बाँकी रहेको छ । आयोजनालाई तत्काल गति दिन प्रभावित धादिङ र गोरखाका स्थानीयवासीले आग्रह गर्दै आएका छन् ।

सरकारले आयोजनास्थल गोरखाको गण्डकी गाउँपालिकाको सिउरेनीटारमा कार्यालयसमेत स्थापना गरी काम गरिरहेको छ । मन्त्री बस्नेतले युद्धस्तरमा आवश्यक तयारी गरेर कार्ययोजनासहित आगामी बैठकमा पेश गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत र मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिए ।

पछिल्लो परिस्कृत विवरणअनुसार आयोजनाको कूल लागत रु तीन खर्ब ८० अर्ब बराबर रहने बताइएको छ । त्यसमा मुआब्जा, पुनः स्थापना तथा पुनर्वासका लागि मात्रै रु ७३ अर्ब बराबरको खर्च हुने बताइएको छ ।

पेट्रोलियम पदार्थबाट मात्रै रु एक खर्ब ८० अर्ब बराबरको स्रोतको जोहो हुने सरकारको बुझाइ छ । मुआब्जा तथा पुनर्वासका लागि खर्च भएको रकमलाई सरकारले ‘भायविलिटी ग्याप फण्ड’ मा राखेर आवश्यक निर्णय गर्न सकिए सहज हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

एकै पटक ठूलो रकम नचाहिने तथा क्रमशः बजेट उपलब्ध गराउँदै जाने भएकाले पनि तत्काल आयोजनाको निर्माण सुरु गर्ने गरी आवश्यक तयारी गर्न ऊर्जामन्त्री बस्नेतले सम्बद्ध अधिकारीलाई आग्रह गरे ।

आयोजना निर्माणका लागि करिब आठ बर्ष लाग्ने अनुमान छ । सो अवधिभित्र आन्तरिक स्रोतबाट नै लगानी जुट्न सक्ने देखिन्छ । यस्तै, सरकारले गठन गरेको एक कार्यदलले झण्डै रु ३५ अर्ब बराबरको रकम व्यावसायिक वा सहुलियतपूर्ण ऋण लिन सकिने सिफारिस गरेको छ ।

हालसम्म भए गरेका सबै अध्ययन तथा कार्यदलको प्रतिवेदनलाई एकमुष्ठरुपमा अध्ययन गरी तत्काल प्रक्रिया अगाडि बढाउन कुनै समस्या नहुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । यस्तै, मन्त्रालयका सहसचिव नविनराज सिंहले आयोजनाको व्यवस्थापनका लागि कुनै समस्या नरहेको जानकारी दिए ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीयवासीको माग कानुनअनुसार सम्बोधन गर्ने, कर्मचारी व्यवस्थापन, लगानीको उपयुक्त विधि तथा शेयर स्वामित्वका विषयमा तत्काल निर्णय गर्नुपर्ने बताए ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?