Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कैदी बन्दीको सुविधामा प्रत्यक्ष पहुँच


२४ ,कात्तिक ,जानकी (बाँके) । बाँके कारागारमा रहेका कैदी बन्दीहरुको राज्यबाट प्राप्त हुने सेवा सुविधा प्रत्यक्ष पहुँच भएको छ । आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बाँकेका कैदी बन्दीलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा प्रत्यक्ष पहुँचको व्यवस्था गरिएको हो ।

प्रजिअ पोखरेलका अनुसार कैदीबन्दीले आगामी दिनमा सेवा सुविधा प्रत्यक्ष रुपमा प्राप्त गर्नेछन् । कारागार व्यवस्थापन विभागअन्तर्गत बाँके कारागारमा पहिलो पटक कैदी बन्दीलाई प्रत्यक्ष रुपमा सेवासुविधा भत्ता उपलब्ध गराइएको प्रजिअ पोखरेलले बताए ।

‘‘राज्यबाट प्रदान गरिएको सेवा सुविधा बिचौलियाले दुरुपयोग गर्न नपाउन् भन्ने उद्देश्यले हामीले प्रत्यक्ष रुपमा कैदी बन्दीकै हातमा यो व्यवस्था लागू गरेका हौँ ।” उनले भने, “यो पहिलो चरणको व्यवस्था हो । चाँडै नै सहकारी बजारको पनि व्यवस्था गर्नेछौँ ।”

चौकीदार, नाइके र सहायक नाइकेमार्फत वितरण हुँदै आएको उक्त रकम पहिलो पटक प्रत्यक्ष रुपमा कैदीबन्दीले बुझेका हुन् । प्रजिअ पोखरेलले कारागार प्रशासन र कैदीबन्दीबीचको सोझो सेवा प्रवाहले चौकीदार, नाइके र सहायक नाइकेबाट प्राय हुने गरेको रकम चुहावट रोक्नका लागि यो व्यवस्था लागू गरिएको बताए ।

सेवा सुविधाअन्तर्गत प्रत्येक दिनको रु ८० का दरले १५ दिनको एक हजार दुई सय आज प्रदान गरिएको कारागारका निमित्त नायब सुब्बा नयनबहादुर कार्कीले बताए ।

उनका अनुसार कारागारमा रहेका नौ सय २० जना कैदीबन्दीलाई सो रकम वितरण गरिएको हो । कैदीबन्दीले कारागारमा सिदावापत दैनिक रु ८० नगद र सात सय ग्राम चामल पाउँदै आएका छन् । कैदीबन्दीलाई जाडो र गर्मी मौसममा प्रयोग हुने लुगावापत नगद दिने व्यवस्था गरिएको छ ।

सेवा सुविधा वितरण गर्न जानुभएका प्रजिअ पोखरेललाई कैदीबन्दीले आफ्ना समस्या सुनाएका थिए । उनीहरुले खाना र लत्ताकपडाको पर्याप्त सुविधा भए पनि आफूहरुलाई बस्नका लागि बास स्थान साँघुरो भएको भन्दै उपयुक्त बासको व्यवस्था गर्न माग गरेका थिए ।

बिरामी भएको अवस्थामा समयमा उपचार नपाएको समस्या कैदीबन्दीले सुनाएका थिए । बन्दीको समस्या सुनेपछि प्रजिअ पोखरेलले कारागार विभागसँग छलफल गरेर सम्बोधन गर्ने आश्वासन दिए ।

तीन सय ५० जनाको क्षमता रहेको उक्त कारागारमा हाल नौ सय २० कैदीबन्दी बस्दै आएका छन् । उक्त कारागारमा चार सय ७५ कैदी रहेका छन् भने चार सय ४५ थुनुवा रहेका छन् ।

कारागार भवनमा रहेको दुई ब्लकमा कैदीबन्दी बाँडिएर बसेका छन् । एउटामा छ सय चार कैदीबन्दी रहेका छन् भने अर्को ब्लकमा तीन सय १६ कैदी बस्दै आएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारको अवस्था जीर्ण छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?