Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो


काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थिती पनि बचतमा देखिएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ भने चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ, तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो । उक्त चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आठ दशमलव ३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव ८१ प्रतिशत रहेको छ । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७ दशमलव ६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८ दशमलव २२ प्रतिशत, फलफूलको १४ दशमलव ०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव २३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ९२ प्रतिशतले बढेको छ, तर घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२ दशमलव ११ प्रतिशत, शिक्षाको नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव ०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको छ दशमलव २५ प्रतिशतले बढेको छ ।त्यस्तै, यातायात क्षेत्रमा एक दशमलव ६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ भने गत असोज महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १० दशमलव २३, तराईको पाँच दशमलव ६६, पहाडको सात दशमलव ३८ प्रतिशत र हिमालको १० दशमलव २४ प्रतिशत रहेको छ । त्यस्तै, यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रू तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो । गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ रहेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सरकारको चालु खाता रू ५९ अर्ब ९ करोडले बचतमा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । त्यस्तै, वैदेशिक लगानी रू ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । असोज मसान्तसम्मको शोधनान्तर स्थिति रू ९९ अर्ब ७ करोडले बचतमा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू १२ अर्ब ४३ करोडले बचतमा थियो । त्यस्तै, गत असार मसान्तमा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्ममा रू १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । पहिलो त्रैमासिक अवधिमा आयात एक दशमलव सात प्रतिशतले बढेको छ भने निर्यात दुई दशमलव तीन प्रतिशतले घटेको छ भने कुल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?