Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

स्याङ्जाको गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन


वालिङ,स्याङ्जा। स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब रु १५ लाख भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्र’मा रहेको भगवती तथा कालिका मन्दिरमा भेटीस्वरुप उक्त रकम सङ्कलन भएको हो । यो भेटी गत वर्षको सोही अवधिको भन्दा दोब्बर हो । उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाणका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी सङ्कलन भएको हो भने गत वर्ष बडादसैँको अवधिमा रु आठ लाख १६ हजार भेटी सङ्कलन भएको थियो । मन्दिरमा चढाइएको भेटी, पाठा तथा पाडाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दानपेटिका, होटल, पसल तथा सहयोग रसिदबाट उक्त भेटी सङ्कलन भएको हो । त्यस्तै, बडादसैँको अवधिभर पूजापाठ गर्ने पण्डित तथा पुजारीलाई दक्षिणा रु ७० हजार ६५, कामदारलाई पारिश्रमिक रु एक लाख ७१ हजार तीन सय, पूजा भोग वस्तु खरिद रु ६६ हजार चार सय ६०, अन्य दानदक्षिणा, खाना खर्च, इन्धन तथा मसलन्द गरी सबै शीर्षकमा कुल रु तीन लाख ७० हजार दुई सय पाँच खर्च भएको छ भने सबै खर्च कटाएर रु ११ लाख १० हजार बचत भएको उनले बताए । तत्कालीन बाइसे-चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको सो मन्दिर पाँच सय ५० वर्ष पुरानो मानिन्छ भने धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यस मन्दिरमा नयाँ–नयाँ भौतिक संरचना निर्माण भइरहेकाले थप आकर्षण बढ्दै गएको छ । स्याङ्जाको व्यापारिक केन्द्र वालिङ बजारबाट मन्दिरसम्म पुग्नका लागि पछिल्लो समय आंशिकरूपमा सडक कालोपत्र, ढलान तथा ग्राभेल गरिएको छ ।

विशेषगरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस र परेवाको बलि दिने गरिन्छ भने एकादशी, चौथी, औँशी, सोह श्राद्धबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । त्यस्तै, स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, पोखरालगायत स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् । समुद्र सतहबाट झण्डै एक हजार छ सय मिटरको उचाइमा रहेको यस स्थानबाट मनमोहक हिमशृङ्खलासहित नागबेली आकारमा बहेका कालीगण्डकी र आँधीखोला तथा ती नदीले बनाएका समथर भू–भाग देख्न सकिन्छ । यहाँबाट स्याङ्जासहित, पाल्पा, तनहुँ, नवलपरासी, नवलपुर, कास्की, पर्वत, गुल्मीलगायतका जिल्लाका भाग सहजै देख्न सकिन्छ भने यस ठाउँलाई पछिल्लो समय पर्यटनसँग पनि जोड्दै अगाडि बढ्ने क्रममा सुविधासम्पन्न अतिथि गृह, सभाहल, हेलिप्याड, ढुङ्गेधारालगायतका भौतिक संरचना निर्माण भइसकेका छन् । त्यस्तै, वालिङ बजारबाट झण्डै आठ किलोमिटरको कच्ची सडक हुँदै यहाँ पुग्न सकिन्छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?