Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विपत् व्यवस्थापन र प्रतिकार्य सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पाण्डे


गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन र प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेश सरकार र नेपाली सेना पश्चिम पृतना हेडक्वाटर्सद्वारा संयुक्त रुपमा विपत्मा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजित सि.सं.१ फायर फाइटिङ तालिम समापन समारोहमा उनले विपद्जन्य घटनाको न्यूनीकरण, सबै संयन्त्रको समन्वयात्मक ढङ्गबाट परिचालन तथा प्रतिकार्य गर्न र पीडितलाई राहत प्रदान गर्न सरकार सदैव तयार रहेको बताए । “विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतसमेत सुनिश्चित गर्दै आएको छ”, मुख्य मन्त्री पाण्डेले भने, “जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुरोध भई आएका विषयमा राहत तथा क्षतिपूर्ति वितरण, विपद् उद्धारका लागि प्रयोग हुने सामग्रीहरू वितरण, विभिन्न किसिमका विपद् नमूना अभ्यास, कम्युनिटी सर्च एन्ड रेस्क्युजस्ता तालिमहरू सञ्चालन हुँदै आएको छ ।” विपद् व्यवस्थापन र प्रतिकार्यमा नेपाली सेना तथा सबै सुरक्षा निकायले समन्वयात्मक रुपमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले यस तालिमले सबै सुरक्षा निकायको आगलागी नियन्त्रण क्षमता अभिवृद्धिसँगै उद्धारमा संलग्न हुने सम्पूर्ण निकायमा आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरे । गत वर्ष गण्डकी प्रदेशमा दुई सय ७० स्थानमा आगलागी हुँदा १० जनाको मृत्यु, ३९ जना घाइते हुनाका साथै अनुमानित रु आठ करोड ८४ लाख ६१ हजार बराबरको क्षति भएको थियोे ।

त्यसैगरी पश्चिम पृतना हेडक्वाटरका पृतनापति दीपक बानियाँले गण्डकी प्रदेश सरकारको पहलमा गरिएको यस तालिमले विपत् व्यवस्थापन एवम् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । सरोकारवाला निकायसँग सहकार्य गर्दै विपत् व्यवस्थापन एवम् प्रतिकार्य गर्दै आइएको र सरोकारवाला निकायको सहकार्य तथा समन्वयबाट विपद् जोखिमी न्यूनीकरणसँगै विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने उनले बताए । पृतना तालिम अधिकृत प्रमुख सेनानी विक्रमदेव गिरीले गण्डकी प्रदेश सरकारको वार्षिक विकास कार्यक्रमअन्तर्गत विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि पृतना हेडक्वाटरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका शिक्षार्थीलाई सहभागी गराई कात्तिक १३ गतेदेखि आठदिने फायर फाइटिङ तालिम सञ्चालन गरिएको जानकारी दिए । उक्त तालिममा गण्डकी प्रदेशस्थित नेपाली सेनाका ३०, नेपाल प्रहरीका १० र सशस्त्र प्रहरी बलका १० गरी ५० जनाको सहभागिता रहेको थियो भने कार्यक्रममा फायर फाइटिङको विभिन्न नमूना अभ्यास गरिएको थियो ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?