महोत्तरी। यसपाली तिहारमा बर्दिबास नगरक्षेत्रमा सयपत्री फूल पर्याप्त हुने भएको छ । बर्दिबास–६ स्थित बर्दिबास कृषि कार्यक्रमको नमुना कृषि गाउँ (मोडल एग्रो भिलेज) को प्लटमा प्रसस्त फूल फुलेपछि यहाँ फूल पर्याप्त हुने भएको हो । करिब एक बिघा (१९ कठ्ठा १० धुर) क्षेत्रफलमा सयपत्री ढकमक्क फुलेपछि फूल पर्याप्त हुने आकलन गरिएको हो । नमुना कृषि गाउँको कूल ८४ बिघा क्षेत्रफलमध्ये व्यावसायिक कृषि प्रबर्धनका लागि छुट्याइएको साढे सात बिघा (सात बिघा १० कठ्ठा) क्षेत्रफलभित्र व्यावसायिक स्रोत संस्था सिलभर लाइन एग्रो प्रालिले यसपाली तिहार लक्षित फूल खेती गरेको हो । “यसपालिको तिहारमा यता ओरपरलाई हाम्रै उत्पादनको फूलले पुग्छ”, संस्थाका स्रोत व्यक्ति साधुरामसिंह बस्न्यात भन्छन् । नगरक्षेत्रका सर्वसाधारणले पनि घरआँगनमा प्रसस्तै फूल लगाएका र नमुना गाउँमा उत्पादित फूलले यहाँको माग पूरा गर्ने बस्न्यातको भनाइ रहेको रहेको छ । “बस्तीबस्तीमा सर्वसाधारणले पनि फूल लगाएका छन्, हाम्रो प्लटमा पनि अहिले मज्जाले फूल फुलेको छ”, उनी भन्छन्, “अब बर्दिबास मात्र नभएर वरपरका अन्य गाउँ-नगर बस्तीलाई पनि फूलका लागि बाहिरी बजारको मुख ताक्नु पर्दैन ।” त्यस्तै, व्यावसायिक कृषि प्रबर्धन प्लटमा अहिले ३४ हजार सयपत्रीका बिरुवामा फूल फुलेका छन् । आजदेखि फूल टिप्न थालिएको संस्थाले जनाएको छ । अब फूल टिप्ने, माला गाँस्ने र सुरक्षित भण्डारण गरेर लक्ष्मीपूजाका दिन वितरण थालिने बस्न्यातले बताउदै स्थानीय मागबाट उम्रने फूल र माला काठमाडौं पठाइने तयारी गरिएको बस्न्यातको भनाइ रहेको छ ।
उक्त संस्थाले बर्दिबास नगरक्षेत्रका बासिन्दालाई नगर कार्यपालिकाको कार्यालयको समन्वयमा सुलभ मूल्य तोकेर फूलमाला उपलब्ध गराउने जनाएको छ । संस्थाले तिहार लक्षित ३० हजार माला बनाउने लक्ष्य राखेको छ भने नमुना कृषि गाउँको व्यावसायिक कृषि प्रवर्धन कार्यक्रमलाई छुट्याइएको जग्गा बर्दिबास नगर कार्यपालिकाको कार्यालयले आधुनिक कृषिको अधिकतम विशेषतायुक्त प्रविधि प्रदर्शन, अध्ययन र परीक्षणका लागि सिलभर लाइन एग्रो प्रालिलाई २० वर्षे सम्झौताअनुसार उपलब्ध गराएको हो । संस्थाले कृषि प्रविधि प्रसारका लागि हरितगृह निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ । यसभित्र अहिले १० कठ्ठा क्षेत्रफलमा १४ हजार काउली (कोभी) र छ हजार डच जेनिटिस जातका काँक्राका बिरुवा हुर्कदै छन् । अत्याधुनिक चिनियाँ कृषि प्रविधिअनुसार हरितगृह भवनभित्रै लगाइएका यी तरकारीको उत्पादनभने संयुक्त अरब इमिरेट्स (दुबई) र हल्याण्डको बजारमा पुग्ने स्रोतव्यक्ति बस्न्यातले जानकारी दिए । यसबाहेक हरितगृह भवनभित्रै विभिन्न जातका तरकारी नर्सरी, फ्रुट भेजिटेवल युनिटमा काँचै चपाएर खाइने सलाद प्रयोजनका तरकारी र १० कठ्ठा क्षेत्रफलमा खुला गोलभेडा खेती गरिएको छ । व्यावसायिक कृषि प्रवद्र्धन कार्यक्रमभित्रै छुट्टै १२ बिघा क्षेत्रफलमा माछा पोखरी निर्माणको योजना भए पनि यो काम भने विभिन्न अड्चनले अघि बढ्न नसकेको स्रोत संस्थाले जनाएको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार