Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

बस्ती पातलियो, बागलुङमा घरघरमै पस्छ चितुवा


बलेवा,बागलुङ । गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरि गाईबस्तु चरेकै कारण जङ्गल हुनबाट पाखा जोगिएका थिए । आजभोलि फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ । त्यसैले ती पाखामा जङ्गल भरिएको छ । दश वर्षअघिसम्म बस्तीको नजिक नदेखिने जङ्गली जनावर आजभोलि बागलुङका ग्रामीण बस्तीका घरघरमै देखिन थालेका छन् । जङ्गली जनावर बस्ती नजिक मात्रै पुगेका होइनन् एकाद घरमा ती जनावरले क्षतिसमेत पुर्‍याउन थालेका छन् । जिल्लाको दक्षिण जैमिनी नगरपालिका–१ कुश्मीशेराकी चन्द्रमा शर्माको गोठमा चार दिनअघि चितुवा पस्यो । साँझकै समयमा घरदेखि केही परको जङ्गलमा कराइरहेको चितुवा रातको समयमा गोठमा पसेर खोरमा थुनेका बाख्रालाई आक्रमण गर्‍यो । चन्द्रमाले एक वर्षअघि रू १० हजार तिरेर ल्याएको माउबाख्रो चितुवाले खोरबाट निकालेर चार कान्लामुनि पुर्‍यायो । पातलो गाउँमा छिमेकी निस्केर धपाउँदाधपाउँदै घाँटीमा घाउ बनाएर रगत चुसेको अवस्थामा बाख्रो चितुवाको मुखबाट खोसियो । गाउँ छेउका पल्लो पाखा र सामुदायिक वन र जलुके तारेभिर सामुदायिक वनमा चितुवा कराउन छोडेका छैनन् । दिनभर गाउँमा बाँदरको आतङ्क छ । रात परेपछि चितुवा कराउँदै घरघरै आइपुग्छन् । “पहिला वनमा चराउन लगेका बाख्रा चितुवाले खान्थ्यो घरमै पसेको कमै सुनिन्थ्यो”, शर्माले भने ।

उनको बाख्रो खाएको एक दिनपछि छिमेकमा बाँदर धपाउन पालेको गुरुप्रसाद आचार्यको कुकुर चितुवाले खायो । गोठकै छेउको खोरमा थुनेको कुकुर रातको समयमा चितुवा पसेर खाएको आचार्यले बताए । गाउँ पातालो भइ मान्छेभन्दा जङ्गली जनावर धेरै हुन थालेको र गरिखान नसकिने अवस्था आएको बताए । बसाइँसराइले बस्ती पातलो हुनु, जङ्गलमा आहाराको कमी हुनु र नजिकमा रहेको निकुञ्जमा मध्यवर्ती क्षेत्र नहुनुले जङ्गली जनावर गाउँ पस्न थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख शरद अधिकारीले बताए ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?