Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

नगर अस्पतालमा आँखा उपचार केन्द्र


नवलपुर। नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो । भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले आँखा अस्पतालले भरतपुरमा अत्याधुनिक शल्यचिकित्सा भवन निर्माण गर्न लागिएको जानकारी दिए । भरतपुर आँखा अस्पतालका निवर्तमान अध्यक्ष कृष्णराज धरेलले उपचारकै कारण कसैले आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सेवा थालिएको बताएका छन् । त्यस्तै बुधबार नै सुरु गरिएको निःशुल्क आँखा शिविरमा दुई सय १९ जनाले आँखा जाँच गराएका छन् भने शिविरमा १४ जनामा मोतिविन्दु, सात जनाको आँखामा मासु पलाएको, १९ जनामा आँखा चिलाउने, आँसु आउने समस्या र १९ जनामा चस्मा लगाउनुपर्ने समस्या भेटिएको भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुवास सापकोटाले जानकारी दिए । यसैबीच अस्पतालको भीमराज उषामाया पाठक आँखा बैंक नानी सङ्कलन केन्द्रमा एक हजार दुई सय ९२ जनाले आँखा दान गर्ने इच्छा पत्र पेश गरेका छन् । हालसम्म २५ जनाले आँखाको नानी दान गरेका छन् भने अस्पतालबाट एक सय ३१ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको आँखा बैंकका संयोजक छाँया श्रेष्ठले जानकारी दिइन् । विसं २०७४ मा स्थापना भएको बैंकले पहिलो पटक २०७५ सालमा गैँडाकोट–२ मा ८४ वर्षीय कलाधर गौतमको आँखाको नानी सङ्कलन गरेको थियो ।

गैँडाकोट नगरपालिका र भरतपुर आँखा अस्पतालबीच भएको सम्झौताअनुरुप आँखा उपचार केन्द्र सञ्चालनका लागि नगरपालिकाले आवश्यक भवन निःशुल्क उपलब्ध गराएको छ । केन्द्र स्थापनाका लागि आर्थिक वर्ष २०८०/८१ देखि निरन्तर वार्षिकरुपमा पाँच वर्षसम्म नगरपालिकाले रु छ लाख भरतपुर आँखा अस्पताललाई उपलब्ध गराउने छ, तर दैनिक २५ जनाको अनुपातमा बिरामी उपचार केन्द्रमा परीक्षणको लागि दर्ता भई परीक्षण गराएमा नगरले वार्षिकरुपमा प्रदान गर्ने रकम प्रदान गर्नुनपर्ने गरी सम्झौता भएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवनले आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने औजार उपकरण, औषधि, चस्मा, लेन्स तथा स्टेसनरीको सामान उपलब्ध गराउने छ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवा सुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने एवं औजार उपकरणको मर्मतसम्भार तथा अन्य व्यवस्थापकीय कार्य भरतपुर आँखा अस्पतालले गर्नेछ भने सम्झौताअनुसार आवश्यकताअनुसार स्रोत साधन जुटाई कम्तीमा वर्षमा एक पटक निःशुल्क शल्यक्रियसहितको आँखा शिविर सञ्चालन गर्नेछ ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?