Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

देवचुली डाँडामा पर्यटन सप्ताह


१५ ,कात्तिक ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ ।

पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो ।

जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको देवचुली जेसिजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिए ।

“देवचुली डाँडाको महत्वलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी धार्मिक र साहसिक पदयात्रा पर्यटनको प्रवर्द्धनका लागि देवचुली डाँडाको फेदी कीर्तिपुरमा सप्ताहव्यापी कार्यक्रम पहिलोपटक गर्न लागिएको हो”, उनले भने ।

उक्त स्थानको सुन्दरता देशव्यापी बनाउने र त्यस क्षेत्रमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले सप्ताहव्यापीरूपमा यो महोत्सवको आयोजना गरिएको सापकोटाले बताए ।

देवचुली नगरपालिका प्रमुख संरक्षक रहेको पर्यटन सप्ताहको आयोजना देवचुली जेसिजले गरेको हो । पर्यटन सप्ताहअन्तर्गत वडास्तरीय खुला भलिबल प्रतियोगिता, नवलपुरमा पर्यटनको सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता, व्यापारिक तथा व्यावसायिक स्टलहरूमार्फत स्थानीय उत्पादनको पहिचान र प्रवरद्धन, जिल्लाको कृषि उपज प्रदर्शनी एवं व्यापार, स्थानीय कला–संस्कृति, सांस्कृतिक झाँकी र नाच प्रस्तुति गरिने छ ।

स्थानीय कला र संस्कृतिको प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिने बताइएको छ । साथै पालिकास्तरीय युवा नेतृत्व र बहस कार्यक्रम, स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति प्रदर्शन, टिकटक प्रतियोगिता, कवि गोष्ठी एवं रचना बाचनसँगै दैनिक देवचुली डाँडाको पदयात्रा सञ्चालन गरिने सापकोटाले बताए ।

कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउन देवचुली पर्यटन दौडअन्तर्गत दलदलेबाट नगरपालिका कार्यालयसम्म वडाध्यक्षहरूको दौड, नगरपालिकाबाट कीर्तिपुरसम्म मार्चपास, नवलपुरको पर्यटन साथमा देवचुली विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासमेत समावेश गरिएको कार्यक्रम संयोजक वसन्त पोखरेलले बताए ।

देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा जिल्लाकै गौरव रहेकाले यस क्षेत्रको विकासमा पर्यटन सप्ताह आयोजना गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए ।

“देवचुली डाँडा जिल्लाकै पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन राष्ट्रियरूपमा यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चिनारी गराउन पर्यटन सप्ताह फलदायी हुने विश्वास लिएका छौँ”, उनले भने ।

पर्यटन सप्ताहको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आज उद्घाटन गर्ने नगरप्रमुख न्यौपानेले बताए । तीनतले जिल्ला (पहाड, भित्री मधेस र तराई)का रूपमा रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पर्यटकीय क्षेत्रमध्ये देवचुली डाँडा पदयात्राका लागि परिचित रहेको छ ।

समुद्र सहतबाट करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र देवचुली डाँडा पदयात्रीहरूको रोजाइमा पर्ने गरेको छ । यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भाग अवलोकन गर्न सकिन्छ ।

देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो–कोहीलाई पनि आनन्दित बनाउने गरेको छ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।

थारू समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । यस दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?