Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै


१३ ,कात्तिक ,दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो ।

शिलान्यास भएको सात वर्षपछि भानुगृहको काम सुरु हुन लागेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो ।

मञ्चकै सक्रियतामा काम पुनः सुरु हुन लागेको उनले बताए । उनका अनुसार अगामी मङ्सिरदेखि काम सुरु गर्ने तयारी छ । उनले भने, “लामो समयदेखि काम नहुँदा अब समितिकै सक्रियतामा भानुगृह बनाउने छलफल भइरहेको थियो । मञ्चका पदाधिकारीले हामीले नै बनाउँछौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ ।”

भानुगृह निर्माणका लागि मञ्चका तर्फबाट आर्थिक सङ्कलनसमेत भएको छ । उनले भnए, “सात वर्ष अगाडि भानुगृहको लागत रु ६८ लाख अनुमान गरिएको थियो । अहिलेको अवस्थामा रु एक करोड जति पुग्ला । मञ्चका तर्फबाट आर्थिक सङ्कलन भइसकेको छ भनेपछि विकास समिति पछाडि हटेको छ ।”

यस वर्ष जसरी पनि भानुगृह निर्माणको काम सुरु गर्ने तयारीमा समिति थियो । तर अब मञ्चकै सक्रियतामा काम सुरु हुने र मञ्चका तर्फबाट समितिलाई परिपत्र भइसकेको निर्देशक रानाभाटको भनाइ छ ।

समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले संरक्षणविहीन अवस्थामा पुगेको छ । उनले भने, “भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी छौँ, पानी र बत्तीको सुविधा पुगिसकेको छ ।”

यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।

निर्देशक रानाभाटले भने, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौँ ।”

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरेका थिए । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।

भानु–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएको बताइन्छ । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिएका थिए ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?