Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेतृत्व लिन अग्रसर हुँदै छन् छात्रा


१२ ,कात्तिक ,टीकापुर (कैलाली) । बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् ।

कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने गरिएको छ । उनि बालिका पनि अतिरिक्त क्रियाकलापमा बालकभन्दा अगाडि रहेका बताउछन् ।

“हामीले हरेक क्रियाकलापमा छोरीलाई प्राथमिकता दिन थालेका छौँ, यहाँ हुने हरेक क्रियाकलापमा बालिका विजयी भएका उदाहरण छन्”, उनि भन्छन्, “हाम्रो विद्यालयमा बाल क्लबको अध्यक्ष बालिका, विभिन्न सामूहिक कार्यमा छात्रा नेतृत्वमा छन् ।”

विद्यालयमा हुने बाल क्लब, कक्षा ‘मोनिटर’जस्ता कार्यमा पनि पछिल्लो समय बालिका अग्रसर हुँदैछन् । खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल विद्यालयले बालिकाको नेतृत्व विकासलाई प्राथमिकता दिएको, सामुदायिक विद्यालयमा बालिका बढी अध्ययनरत भएकाले बालिकाले पढाइको नतिजामा पनि नेतृत्व गरिरहेको बताउछन् ।

“छात्र बोल्ने कलामा पनि छात्राभन्दा अगाडि छन्”, उनि भन्छन्, “आठ कक्षा र एसइई परीक्षामा पनि छात्राको नतिजा राम्रो छ । यसले पनि उनीहरू नेतृत्व गर्न सक्षम छन् भन्ने देखाउँछ ।”

सामुदायिक विद्यालयमा अध्ययन गर्नेमा पनि छात्राका धेरै छन् । विद्यालयले पनि छात्रालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रयास गरिरहेको देखिन्छ । हिमालय मावि घीया पुछरीका प्रधानाध्यापक बुद्धिराम चौधरी पनि छात्रा बढी अग्रसर हुँदै गरेका बताउछन् । उनि भन्छन् , “विद्यालयमा छात्राको सङ्ख्या धेरै छ । अवसर पनि उनीहरूलाई दिने गरेका छौँ ।”

नेपाल शिक्षक महासङ्घ टीकापुरका सभापति रघुनाथ उपाध्याय पनि विद्यालयमा नेतृत्व गर्ने हरेक भूमिकामा छात्रालाई प्राथमिकता दिने र छात्राहरू छोराभन्दा अब्बल बन्दै गएका अनुभव आफूले गरेका बताउछन् । “सामुदायिक विद्यालयमा छोरीलाई अगाडि बढाउने थुप्रै प्रयास भएका छन्”, उनि भन्छन्, “पालिकामा रहेका शिक्षा, स्वास्थ्य शाखाले पनि छोरीलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेका छन् ।”

नवदुर्गा आधारभूत विद्यालयका शिक्षिका सूर्या भट्टराई शिक्षकले पनि छात्राको हौसला बढाउने काम गर्नुपर्नेमा जोड दिन्छन् । “छात्रालाई घरको काम पनि गर्नुपर्ने भएकाले उनीहरूलाई शिक्षा र अन्य अवसरका लागि नेतृत्व दिँदा शिक्षक जिम्मेवार बन्नुपर्छ”, उनि भन्छन्, “विद्यालयमा पनि सकारात्मक विभेद आवश्यक छ ।”

टीकापुर नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सङ्गीता शाह छोरी जन्मेदेखि नै अभिभावकमा छोरी नेतृत्व सम्हाल्न सक्छिन् भन्ने सोचसहित हुर्काउनुपर्नेमा जोड दिन्छन् ।

‘‘सशक्तीकरणका लागि छोरीलाई पनि तिमी जसरी पनि सक्षम हुनुपर्छ भनी उनीहरूको मनमा चाहना जगाइदिनुपर्छ”, उनि भन्छन्, “छात्रालाई मानसिकरूपमा पनि सक्षम बनाउने, उसलाई आर्थिकरूपमा पनि सक्षम बनाउनका लागि शिक्षामा पनि बढी लगानी आवश्यक छ ।”

छोराको तुलनामा छोरी बढी संवेदनशील हुन्छन् । अझ छोरीलाई घर तथा भान्साको काम, भाइबहिनी स्याहारजस्ता कार्यको बोझ पनि थुपारिन्छ । सामाजिक परिवेशले छोरालाई जति अगाडि बढ्न सहज वातावरण छोरीका लागि छैन । छोरी पनि समाज, राष्ट्रका नेतृत्वकर्ता हुन् भन्ने अभिभावक तथा समाजले सोच्न र त्यही खालको वातावरण बनाउन आवश्यक छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?