Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

महोत्तरीमा डढेलोले सखाप हुँदै वन


मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ । बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ ।

यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन् । बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्नुहुन्छ, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन् ।” डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उहाँको भनाइ छ । डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ । साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ । उनीहरुको उदासिनताले वन उजाड हुँदै गएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउनुहुन्छ । “दिनदिनै डढेलोले वन खरानी हँुदै छ”, उहाँले भन्नुभयो । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उहाँको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ । जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउनुहुन्छ । वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । “वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?