Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

महोत्तरीमा डढेलोले सखाप हुँदै वन


मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ । बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ ।

यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन् । बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्नुहुन्छ, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन् ।” डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उहाँको भनाइ छ । डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ । साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ । उनीहरुको उदासिनताले वन उजाड हुँदै गएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउनुहुन्छ । “दिनदिनै डढेलोले वन खरानी हँुदै छ”, उहाँले भन्नुभयो । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उहाँको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ । जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउनुहुन्छ । वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । “वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?