Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बागलुङका स्थानीय तह सडक मर्मत गर्दै


३० ,असोज ,बलेवा (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो ।

गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो । सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय छन् । जैमिनीमात्रै होइन जिल्लाका १० वटै स्थानीय तह दसैँअघि नै सडक सहज र सफा बनाउने काममा लागेका छन् ।

“चाडपर्वमा गाउँ भरिभराउ हुन्छ, धेरै मानिसले यात्रा गर्ने समय हो । यस्तो बेला समस्या नहोस् भनेर सडक मर्मत गरिरहेका छौँ”, जैमिनीका उपप्रमुख हरिहर शर्माले भने, “अब मर्मत गरेका सडक हिउँदभरि मर्मत गरिराख्नु पर्दैन, वर्षा रोकिएकाले सडकमा अवरोध नहोला भनेर सफाइको काम थालेका हौँ ।”

प्रत्येक वर्ष बाढी पहिराले सडकमा क्षति पुर्याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन् ।

बागलुङ नगरपालिकाले यो वर्ष सडक सरसफाइ र मर्मतका लागि प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट नै विनियोजन गरेको थियो । सबै वडामा मर्मत र सरसफाइको काम सकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

दसैँ लक्षित मात्रै नभई बाढीपछि भत्केका संरचना पुनःनिर्माणसमेत गरिरहेको स्थानीय तहले जनाएका छन् । आफ्नो अधिकार क्षेत्रभित्रका सडक संरचना मर्मत गर्ने र सङ्घ तथा प्रदेश सरकारको जिम्मेवारीमा रहेका सडक मर्मतका लागि ध्यानाकर्षण गराइरहेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।

मौसमले साथ दिए दसैँमा घर फर्कने पाहुनालाई सहज हुनेगरी काम गरिरहेको उनले बताए । ग्रामीण क्षेत्रका कृषि सडकलाई लक्षित गरेर वडा कार्यालयले बाटो मर्मत, सफा गर्ने कामसमेत गरिरहेका छन् । दसैँलाई लक्षित गरेर सडकका खाल्डाखुल्डी धमाधम पुरिएका छन् । सडकमा साना–ठूला डोजर र लोडर चलिरहेका छन् ।

सडक मर्मत र सरसफाइमात्रै होइन, स्थानीय तहले चाडपर्वका बेला यातायात क्षेत्रमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सक्रिय भइरहेका छन् । जिल्ला प्रशासनसँग मिलेर यहाँका स्थानीय तहले बजार अनुगमनको कामलाई तीव्र बनाएको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।

स्थानीय तहले चाडबाडका बेला यातायात क्षेत्रमा हुने कालोबजारी रोकेर नियमानुसार मात्रै भाडा लिन सचेत गराइरहेका छन् । प्रहरी, प्रशासन र यातायात व्यवस्था कार्यालयलाई भाडाको अनुगमनका लागि ध्यानाकर्षण गराएको जैमिनीका उपप्रमुख शर्माले बताए ।

स्थानीय तहले जस्तै जिल्लामा सञ्चालनमा रहेका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र अन्य सडक आयोजनाले पनि चाडबाडलक्षित सडक मर्मत थालेका छन् ।

निर्माणको काम चलिरहेका आयोजनामा सम्बन्धित निर्माण कम्पनी र निर्माण सम्पन्न भएर हस्तान्तरण भएका सडक सम्बन्धित कार्यालयलाई मर्मत तथा सरसफाइका लागि अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?