Trending
>>   जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा >>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

हराउँदै मौलिक भाका


ढोरपाटन (बागलुङ) । बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन् । मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन् ।
“अहिले त रोधी पनि बस्न छोडे, रोधीमा गाइने गीत पनि हराए । कहीँ कतै रोधी गाएको भाका सुनिँदैनन् । ती गीत, जमाना फेरिए, मान्छेका स्वभाव र चालचलन सबै फेरिएका छन्”, ढोरपाटनकी ८३ वर्षीया मोतिकुमारी घर्तीले भन्नुभयो । उहाँले कहिलेकाहीँ एक्लै हुँदा पुराना गीत गुनगुनाउने गरेको बताउनुभयो ।
उनले गुनगुनाउने गीत अहिलेका युवा पुस्ताले खासै बुझ्दैनन् । यानिमाया, सुनिमाया, शिरफुलेमाया लगायतका थुप्रै लोक भाकाहरु सुनिन छाडेको भन्दै मोतिकुमारी गुनासो गर्नुभयो । रोधी बस्दा, बुकीँ चढ्दा, झर्दा, मेलापात गर्दा, मेला महोत्सवमा यी गीत निकै गाउने गरेको स्मरण गर्दै अहिले हिन्दी र अङ्ग्रेजी गीतले मौलिकतालाई हराई दिएको घर्तीको भनाइ थियो ।
गीतसङ्गीतले मानिसको दुःख, वेदना र हर्ष बोल्ने भन्दै पुराना गीतसँगै संस्कृति पनि हराउँदै गएको उनले बताए । कुनै गीत चाडबाड विशेषतः र कुनै बाह्रै महिना गाउन मिल्ने भन्दै पछिल्लो समय पश्चिमा संस्कृतिले गर्दा स्थानीय पहिचान हराएकोमा उहाँले चिन्ता व्यक्त गरे । आधुनिकताले गर्दा धेरै मान्छेको पहिरन, खानपान र दैनिकी बदलिएको हुँदा उनीहरुलाई पुराना गीत सङ्गीतको महत्व थाहा नभएको घर्तीको भनाइ थियो ।
“हाम्रो पालामा अहिलेको जस्तो फोन थिएन, चिट्ठी लेख्ने प्रचलन पनि धेरै पछि आएको हो, परिवारका मान्छे र कोही आफन्त टाढा भए, प्रदेश गए भने नफर्किंदासम्म उसको हालखबर थाहा हुँदैनथ्यो, त्यति बेला मनको बह पोख्न गीत गाइन्थ्यो,” उनले भने  “अहिले त छिनछिनमा फोन गर्छन्, भिडियो हेराहेर गर्छन्, विदेश छ कि सँगै छ थाहै हुँदैन, अहिलेका मान्छेलाई के थाहा त्यस बेलाका गीतको महत्व ?, उतिबेला हाम्रो सुख, दुःखको सारथी थियो गीत ।”
युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीतहरु हराउँदै गएको स्थानीय ७७ वर्षीय टीकाराम रोका मगरले बताउनुभयो । उहाँले अहिले पनि बूढापाकाले पुराना भाका गाउनका लागि लगाउने गरेको बताए उनाका अनुसार अरूलाई भन्दा बढी रोका मगरलाई बढी थाहा भएको हुँदा उहाँलाई यो भाका गाउन लगाएका हुन् । बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरे लगायतका दर्जन बढी भाका मगर, गुरुङलगायत आदिवासी जनजाति समुदायका मानिसले गाउने उनको भनाइ थियो ।
“हाम्रा पाका पुर्खादेखि गाउँदै आइएको गीत/सङ्गीत अहिले लोप भए, धेरै वर्ष पुराना गीत अरू समुदायका मान्छेले गाउन जान्दैनन् । यी गीतमा हाम्रो पहिचान, हाम्रो कर्म र परम्परा बोलेको हुन्छ, यी गीतहरुको लय पनि अरूभन्दा बेग्लै हुन्छ, अहिले त हराउँदै गयो”, मगरले भने , “युवा पुस्ताले र्‍याप/झ्याप केके हो के गाउँछन्, म मरे भने त यो गीत पनि मर्छ भन्ने पीर लाग्छ, संस्कृति बचाउनका लागि राज्यले पनि भूमिका खेल्नुपर्छ, अहिले केटाकेटी जेन्मेको दुई/चार वर्षपछि विदेशी गीत सुन्ने गाउने गर्छन्, हाम्रा छोरा नातिले मैले गाएको रुचाउन्न् ।” गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने हुँदा यो यानिमाया, सुनिमाया र ठाडी भाका गाउन कठिन मानिने उनको बुझाइ छ ।
आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताले चासो नदिँदा मौलिकता बोकेका गीत हराउन थालेको ७४ वर्षीय तुलबहादुर पाइजा मगरले बताए  । उनका अनुसार मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा ठाडी भाका गाउने चलन छ । अर्मपर्म लाग्दा, घाँसदाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम गीतसङ्गीत नै थियो । आफ्ना पालामा साथीभाइ भेट हुँदा यस्ता गीतबाटै हालखबर, सञ्चो बिसञ्चो सोध्ने गरेको उनले स्मरण गरे ।
अहिले फोनले गर्दा दिनदिनै कुरा हुने हुँदा गीतमा हालखबर सोध्न छोडिएको पाइजाले बताए । पुराना गीतहरु तीन रात, तीन दिन गाउँदा पनि नसकिने भन्दै अहिले त्यस्ता गीत गाउने मान्छे भेट्याउन मुस्किल पर्ने उनको भनाइ थियो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पपगीतले मौलिक भाका हराउन थालेको भन्दै यस्ता गीत अहिलेका कलाकारले पनि नगाउने उनले  बताए ।
“दिनभरि मेलापातमा व्यस्त भइन्थ्यो, थकाइ लाग्थ्यो, साँझ, ओल्लोपल्लो घरका तरुनी तन्नेरी भएर रोधी बसिन्थ्यो, पुराना गीत गाइन्थ्यो, रोधी बस्दा पुराना गीतहरुको संरक्षण हुन्थ्यो, अहिले त रोधी बस्ने चलन नै छैन, हामी तन्नेरी हुँदा बेस्सरी रोधी बस्ने, गीत गाउने गरिन्थ्यो”, पाइजाले भने, “अहिलेका त न रोधी बस्छन्, न पुराना गीत गाउँछन्, यसले गर्दा पुराना संस्कृति बाेकेका गीत हराए, हाम्रो पालामा मोबाइल, टिभी केही थिएन, केमा गीत सुन्नु ?”

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?