Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

१९औं एसियाडमा पदकको अपेक्षा गरेको तेक्वान्दोमा निराशा


हान्झाउ । १९औं एसियन गेम्स एसियाडको तयारी सुरु हुँदै गर्दा नेपालले पदकको अपेक्षा गरेको खेलको सूचीमा तेक्वान्दो, बक्सिङ र कराते मुख्य प्राथमिकतामा थियो । मार्सल आर्टसका यी खेलहरुमा नेपालले यसअघि एसियाडमा पदक पनि जितिसकेको थियो । अझ तेक्वान्दो एसियाडमै नेपालको लागि सबैभन्दा सफल खेल समेत हो । जसबाट नेपालले १ रजत सहित सर्वाधिक १५ पदक जितेको छ । यस पटक पनि तेक्वान्दोबाट नेपालले पदकको अपेक्षा राखे पनि खेलाडीहरुको प्रदर्शन भने त्यो अनुरुप देखिएन । तेक्वान्दोमा पछिल्लो पटक नेपालले २००६ दोहा एसियाडमा पदक जितेको थियो । त्यसयता नेपालले तेक्वान्दोबाट एसियाडमा पदक जित्न सकेको छैन । हान्झाउमा तेक्वान्दोमा नेपालका ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । तर अहिलेसम्म कुनै पनि खेलाडी क्वाटरफाइनलबाट माथि जान सकेका छैनन् । बुधबार तेक्वान्दोमा प्रतिस्पर्धा गरेका नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिए वीरबहादुर महरा, इन्दिरा बस्नेत र अभिशेक बराल । नेपालका अभिषेक बराल पुरुष ८० केजी अन्तर्गत अन्तिम ३२ मा अफगानिस्तानका ओमिद साहाकसँग २-० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११-१ र दोस्रो चरणमा १५-२ ले पछि परे ।

यस्तै अनुभवी खेलाडी वीरबहादुर महरा पुरुष ६८ केजी मुनी अन्तिम १६ चाइनिज ताइपेईका यी जुई चिउसँग २-० ले नै पराजित भए । पहिलो चरणमा १०-० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरे पनि १२-८ ले पछि परे । महिला ६७ केजी मुनिको तौल समूहमा इन्दिरा बस्नेत अन्तिम १६ मा इरानका मेलिका मिरहोसेनी भाकिलीसँ २-० ले हारे । उनी १४-१ र ९-० ले पराजित भइन् । तेक्वान्दोमा नेपालको अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा नेपालका ज्याकी यादवले बिहीबार जोर्डनी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म खेलेका तेक्वान्दोका १० खेलाडीमध्ये पुम्सेका प्रेमबहादुर लिम्बु, ग्योरोगीका अन्जली तामाङ र गोविन्द बहादुर आलेले समान एक खेल जित्नु बाहेक अन्यको प्रदर्शन निराशाजनक रह्यो । बाँकीले एक खेल समेत जित्न सकेनन् ।

एसियाडमा पाँचौ दिनको खेल सुरु हुँदा सम्म नेपाली खेलाडीको प्रदर्शन उत्साहजनक देखिएको छैन । अहिलेसम्म केही खेलका खेलाडीले एक खेल जित्नु नै नेपालको उपलब्धी जस्तै बनेको छ । प्राथमिकतामा राखेर पदकको अपेक्षा गरिएकै खेलमा समेत नेपालको कमजोर प्रदर्शन भएपछि नेपाल पदक विहिन नै हुने हो कि भन्ने चिन्ता बढेको छ । नेपालले प्रतिस्पर्धा गरेको पुरुष भलिबल, सुटिङ, साइक्लिङ, पुरुष रग्बीमा भने चुनौती समाप्त भइसकेको छ ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?