Trending
>>   आज मिति २०८२ साल भदौ ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु


९ ,असोज ,दमौली (तनहुँ) । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताए ।

कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ ।

अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उनले जानकारी दिए ।

शाखा प्रमुख सोतीले भने, “अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाउन लागेका छौँ ।”

नगरपालिकाले टोल–टोलमा डेङ्गुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

गत भदौ महिनाको अन्तिम सातायता डेङ्गुको सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनले भने, “अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।”

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको सङ्क्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरे । डेङ्गु सङ्क्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ ।

दमौली अस्पतालमा अधिकांश बिरामी डेङ्गुका छन् । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ ।

यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ ।

पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सध राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?