Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी


७ ,असोज ,गलकोट (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् ।

उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उनको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा परेको असिनाका कारण उनको स्याउ बगानको उत्पादनमा कमी आएको छ ।

उनले विसं २०४८ देखि परम्परागत तरिकाले स्याउखेती गर्दै आएका छन् । उनको मसगाउँमा रहेको १५ रोपनी जग्गामा स्याउखेती छ । दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको बताए ।

“गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिए, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो”, किसान बुढाथोकीले भने, “चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो, ढोरपाटन र निसेलढोर क्षेत्रमा पहिलोपटक असिना परेको थियो ।”

असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश भएको अगुवा स्याउ किसान बुढाथोकीले बताए । परम्परगात स्याउखेती सफल नहुँदा निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए ।

उनले आफ्नो व्यक्तिगतरूपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राखेका छन् । उनले यस वर्ष दुई सय इटालियन प्रजातिका बिरुवा थप गरेका छन् ।

“ढोरपाटन स्याउ ब्लकको अध्यक्षसमेत भएँ, अहिले सामूहमा काम गरेका छौँ, ढोरपाटन र निसेलढोका स्याउ किसानको नेतृत्व म आफै गरिरहेको छु, परम्परागत स्याउ भएन”, उनले भने, “इटालियन प्रजातिको स्याउ फस्टाएको छ तर यस वर्ष भने स्याउ उत्पादनमा निकै कमी आयो असिनाले स्याउका फूल झार्दा उत्पादन न्यून भएको हो ।”

ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात् कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाएको थियो ।

तर कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । स्याउको परीक्षण सफल भएपछि अहिले पुनः नयाँ बिरुवा थप भइरहेको छ ।

सो क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौँ भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ ।

ढोरपाटन उपत्यका, सेन्तुङ, श्यालपाखे र निसेलढोर, मसलगायतको स्थानमा परम्पराकालदेखि नै फ्याट्टफुट्ट स्याउखेती हुने गरे पनि त्यसले व्यावसायिकता पाउन थिएन ।

ढोरपाटन–९ ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले समेत एक सय ८१ वटा बिरुवामा केही बिरुवामा गत वर्षदेखि स्याउ फल्न थालेको बताउँदै यस वर्ष भने असिनाका कारण स्याउ निकै कम फलेको बताए ।

यहाँका स्थानीय परम्परागत स्याउखेती छाडेर इटालियन प्रजातिको स्याउखेती लगाउन अग्रसर भए पनि यसपटक ढोरपाटन क्षेत्रको स्याउ उत्पादनमा भारी गिरावट आएको किसान रामबहादुरले बताए ।

ढोरपाटन क्षेत्रमा दुई सयभन्दा बढी किसानले परम्परागत र एक दर्जन किसानले व्यावसायिक स्याउखेती गर्दै आएका छन् ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?