Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

घाटा खाएर आलु बिक्री गर्दै किसान


४ ,असोज ,भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् ।

आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताए ।

किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उनको भनाइ छ । चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् । “यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ”, विष्टले भने, “मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ ।”

यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन् । यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा गिरावट आएको छ । लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले दुई हजार पाँच सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उनको भनाइ छ ।

आलुबाट मेहनतअनुसारको प्रतिफल नपाएपछि निरासा थपिएको विष्ट बताउछन् । “आलुको उचित मूल्य नपाए पनि कुहिने बिग्रने डरले बिक्री गरे”, उनले भने, “लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो । आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो । राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो ।”

ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई रु २८ तथा घरमा पुगेर रु २५ मा खरिद गर्ने गरेका छन् । यहाँको चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । चोलन्ती गाउँबाट मात्र यस वर्ष करिव १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताए ।

“यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मुल्य छैन”, उनले भने, “यहाँका किसानको घरबाट प्रतिकिलो रु २५ देखि रु २८ मा खरिद गरेर लैजाँदै आएका छौँ । विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो । तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन ।”

मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हीरालाल लुइँटेलले बताए । मूल्यको कारण यहाँका अधिकांश किसानको आलु बिक्री नभएको उनको भनाइ छ । “हाम्रो मझौले र चोलन्ती गाउँमा आलुको धेरै उत्पादन हुन्छ”, उनले भने, “आलुले यस वर्ष राम्रो मूल्य पाउन सकेन । मझौले गाउँका धेरै किसानको आलु हालसम्म बिक्री भएको छैन । किसान मूल्यको पर्खाइमा बसेको अवस्था छ ।”

उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ । बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उनले बताए । “उत्पादन भएको आलुको उचित मूल्य लिएर बिक्री गर्न सकिएको छैन”, उनले भने, “भण्डारण गरेको ठाउँमा आलु कुहिन थालेको अवस्था छ । राज्यले उत्पादित आलुलाई बजारीकरणमा सहयोग गरे हामीलाई राहत पुग्ने थियो ।”

मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताए । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुको खेती गर्दै आएका उनको भनाइ छ । “यहाँको मुख्य उत्पादन नै आलु र मकै हो”, विष्टले भने । यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?